म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले लोगो सार्वजनिक गरेको छ । नगरपालिकाको १० औँ स्थापना दिवसको अवसर पारि विहिबार नगर प्रमुख सुरत केसीले ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मुल आधार’ भन्ने नारा सहितको लोगो अनावरण गर्नुभएको हो ।
नगरपालिका भित्र भएका धार्मिक, पर्यटकीय स्थलहरु, म्याग्दी तथा काली गण्डकी नदि लगायतलाई समेटेर लोगो तयार गरिएको छ । नगरपालिकाको उक्त लोगो बेनपा १० घर भई हाल नगरपालिकामा आइ.टी अफिसरको रुपमा कार्यरत खिम बहादुर क्षेत्रीले तयार गर्नुभएको हो । नगरपालिकाले लोगो बनाउनका लागि सूचना नै जारी गरेर प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा क्षेत्रीको लोगो उत्कृष्ट बनेको नगर प्रमुख केसीले बताउनुभयो ।
उत्कृष्ट लोगो डिजाईन गरेका क्षेत्रीले नगद पुरस्कार २५ हजार प्राप्त गर्नुभएको छ । उहाँले सो रकम बेनपा ५ बगुवाखोलामा अध्ययनरत बौद्धिक अपांगता भएका विद्याथीहरुलाई १२ हजार ५ सय, र धवलागिरी मावि सिङ्गामा अध्ययनरत वहिरा विद्यार्थीहरुलाई १२ हजार ५ सय प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाले १० जना अति विपन्न परिवारलाई जनही ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।
बेनपा १ का लक्ष्मी नेपाली, २ का गोपाल सार्की, ३ का टेक बहादुर सुनार, ४ का वुद्धिमाया किसान, ५ का कमल बहादुर खत्री, ६ का खिम बहादुर नेपाली, ७ का पूजा विक, ८ का ज्ञानमाया श्रेष्ठ, ९ का खम बहादुर राई, र १० का जालमाया रोकाको परिवारलाई सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।
त्यस्तै बेनी नगरपालिका भित्रका १० जना एचआईभि सक्रमितहरुलाई पनि जनही १० हजारका दरले रकम हस्तान्तरण गरिएको छ । भने स्थापना दिवसकै अवसरमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले रक्तदान समेत गरेका छन ।
२०७१ साल जेठ २५ गते भकिम्ली र पात्लेखेत बाहेकका गाविसहरु मिलेर नगरपालिका स्थापना गरिएको र संघियता कार्यान्वयन संगै २०७३ सालमा भकिम्ली र पात्लेखेतलाई पनि नगरपालिकामा समावेश गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो ।