म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले यहि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पारेर आयोजन गर्न लागेको जिल्ला भित्रका अन्तरमावि स्तरीय लोक गीत प्रतियोगिता तथा विविध सांस्कृतिका कार्यक्रमको तयारीलाई तिव्र बनाएको छ ।
विद्यालय स्तरमा रहेका विद्यार्थीहरुलाई लोक संगीतमा रुचि बढाउने र उनिहरुको कला र क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको आर्थिक संकलन, प्रचार–प्रसार, छपाई, पत्राचार लगायतको तयारीलाई तिव्र बनाईएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा कार्यक्रमका मूल संयोजक धु्रव जिसीले बताउनुभयो ।
प्रतियोगीतको प्रथम पुरस्कार २५ हजार, द्वितिय १५ हजार, तृतिय १० हजार र शान्त्वना ५ हजार ट्रफि र प्रमाणपत्र राखिएको छ । प्रतियोगितामा एउटा विद्यालयबाट १ जना विद्यार्थीले मात्रै भाग लिन पाउने, गीत मौलिक लोक लयमा हुनुपर्ने, प्रत्यक्ष बाद्यवादनमा गाउनुपर्ने, गीत समसामयिक, सामाजिक विषयबस्तुमा आधारित हुनुपर्ने लगायतका निमयहरु राखिएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि गठन गरिएका विभिन्न उपसमितिहरुले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाईरहेका छन, अध्यक्ष जिसीले भन्नुभयो, “कार्यक्रम भव्यताका साथ सम्पन्न हुनेछ भन्नेमा हामी विश्वस्त छौँ” ।
जिल्ला समन्वय समितिमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुती समेत राखिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीहुन जिल्लाका सम्पूर्ण माविहरुलाई पत्राचार गरिएको छ ।
करिव ३ लाख ५० हजार खर्च अनुमान गरिएको कार्यक्रममा देश, विदेशमा रहेका लोक गीतप्रेमीहरुबाट सकरात्मक रुपमा सहयोग र सल्लाह, सुझाव प्राप्त भईरहेको प्रतिष्ठानका सचिव विजुन केसीले बताउनुभयो ।
मावि स्तरीय लोक गीत प्रतियोगिता पहिलो पटक आयोजना गरिएकाले सहभागी हुन जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरिएकाले प्रतियोगि विद्यालयहरुको सहभागीता उल्लेख्य मात्रामा हुने प्रतिष्ठानले जनाएको छ ।