म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा स्व. नर बहादुर भट्टचन स्मृति भलिबल रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिका भलिबल संघको आयोजनामा शुक्रबार देखि सुरु भएको म्याग्दी जिल्ला अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलाडि राष्ट्रको पहिचान भएको बताउनुभयो । खेलकुद र खेलाडिले देशलाई विश्वसामु चिनाउन सक्ने भन्दै खेलकुदको विकासमा सरकारले उपयुक्त कार्यक्रम लिनुपर्ने बताउनुभयो ।
खेलाडिलाई खेल खेलेरै बाँच्न सक्ने व्यवस्था राज्यले गर्नुपर्ने गर्वुजाको भनाई थियो । खेलाडिको सम्मान संगै आफु र आफ्नो परिवारको पालनपोषण हुन सक्ने गरि पारिश्रमिकको व्यवस्था गर्ने नीति बनाउने कुरामा आफुले जोड दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले खेलकुदको विकासका लागि पालिकाले विभिन्न क्वल तथा विद्यालयहरु संग समेत सहकार्य गरिरहेको बताउनुभयो । भलिबल खेलमा ग्रामिण भेगका युवाहरुको वढि चासो हुन्छ, अध्यक्ष रोकाले भन्नुभयो, ‘आफ्नो खेल कौशललाई अनुशासित र मर्यादित बनाउन खेलाडिहरु अनुरोध गर्दछु’ ।
प्रतियोगिताका मुख्य प्रायोजक, स्व.नर बहादुर भट्टचनका नाति समाजसेवी एवम् व्यवसायी स्टालिन शेरचन र सरद शेरचनले भलिबल खेलको विकास र नयाँ खेलाडि उत्पादनका लागि स्थानीय भलिबल संघ र क्लवहरुसंग सहकार्य गरि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले प्रतियोगिता वार्षिक रुपमा संचालन गर्नका लागि आफ्नो तर्फबाट नियमित सहयोग उपलब्ध हुने पनि प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्व.भट्टचनको तस्विरमा माल्यार्पण समेत गरिएको थियो ।
प्रतियोगिता उद्घाटन समारोहमा मंगला गाउँपालिका भित्रका अग्रज खेलाडिहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा कुल बहादुर रोका, योगेन्द्रमान शेरचन, योगेन्द्र केसी, मन बहादुर रोका, रन बहादुर जिसी, प्रेम मल्ल, दिल बहादुर बुढाथोकी, नर बहादुर गुरुङ, हेम जिसी, याम बहादुर भण्डारी, मुक्तमान केसी, छविलाल कँडेल र महेन्द्र केसी रहेका मंगला भलिबल संघका सदस्य तथा सचिवालय संयोजक केपी सापकोटाले जानकारी दिनुभयो ।
फागुन ८ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार १ लाख र द्वित्तिय पुरस्कार ५५ हजार त्यस्तै महिला तर्फ प्रथम पुरस्कार ६० हजार र द्वित्तिय ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताको सहआयोजकमा मालिका युवा क्लव र मंगला युवा क्लव रहेका छन भने समन्वय, सहकार्य तथा प्राविधिक, रेफ्री अफिसियल संयोजन म्याग्दी जिल्ला भलिबल संघले गरेको मंगला भलिबल संघका सचिव राम गुरुङले बताउनुभयो । प्रतियोगिताका रेफ्री तथा अफिसियलहरुमा कुमार किसान, खड्क केसी, राजिन पुरी र अमर पुन रहेका छन ।
प्रतियोगिताको उद्घाटन सत्र संघका अध्यक्ष मुक्तमान केसीको अध्यक्षता, सचिव गुरुङको स्वागत र सदस्य तथा सचिवालय संयोजक केपी सापकोटाको संचालनमा सम्पन्न भएको थियो । पुरुष भलिबल अन्तर्गत पहिलो चरणका खेलहरु शुक्रबारदेखिनै सुरु भएका छन ।