राष्ट्रपति भण्डारी पर्वतको कालञ्जरमा आउने

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन्।

जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

पौराणिक महत्त्व बोकेका ती ठाउँमा तीनै तहका सरकारबाट लगानी भइरहेकोले अब पर्यटकलाई आकर्षण गर्नुपर्ने वेला आएको उनले बताए। प्रचारप्रसारकै लागि यसअगाडि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको टोली समेत पुगेको कालाञ्जर क्षेत्रको अवलोकन गरेपछि राष्ट्रपति भण्डारी बराह क्षेत्रमा जाने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति भण्डारीले हम्पाल कालाञ्जर क्षेत्रमा निर्माण भइरहेका भौतिक संरचनाको अवलोकन गरेपछि बराह क्षेत्रमा निर्माण भएका दुई वटा मन्दिरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ‘लाञ्जर हम्पाल तथा बराह क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई बाहिर झल्काउने प्रयासमा रहेका छौँ। त्यसैका लागि चार महिनाअघिदेखि राष्ट्रपतिलाई निमन्त्रण गरेका थियौँ’, अध्यक्ष आचार्य भन्छन्, ‘कालाञ्जर क्षेत्र र त्यहाँ निर्माण हुँदै गरेका भौतिक संरचनाको अवलोकनपछि बराह क्षेत्रमा पुगेर त्यहाँ बनेका दुई वटा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ।’

राष्ट्रपति भण्डारी आउने निधो भएपछि गाउँपालिकाले आफ्नो १३४ औँ बैठक नै बराह क्षेत्रमा सम्पन्न गरेको छ। बैठकमा बराह ताल कुल मन्दिर उद्घाटन समारोहको तयारीका विषयमा छलफल भएको छ। स्थानीयबासीसँग छलफल र तयारीको बारेमा निर्णय गर्न सहज हुने भएकाले कार्यक्रम स्थलमा नै पुगेर कार्यपालिका बैठक आयोजना गरिएको हो।

धार्मिक पर्यटकीय सम्भावना बोकेको बराह ताल परिसरमा घर्ती क्षेत्रीको कुल मन्दिर निर्माण भएको हो। उद्घाटन समारोहको तयारीका लागि विभिन्न उपसमिति पनि गठन गरिएका छन्। तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो। सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ। ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन्।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ। करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन्। बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ । त्यो क्षेत्रबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ।

जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालु आउने गरेका छन्। मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रमा जनैपूर्णिमा बाहेकको समयमा भने पर्यटकहरु जाने गरेका छैनन्। बराह क्षेत्रमा पूजाआजा र भाकल गरेमा सन्तानलाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलता प्राप्त हुने जनविश्वास छ। मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ।

धार्मिक प्रचारप्रसार गरेर सबै समयमा पर्यटक जाने वातावरण तयार पार्नका लागि नै गाउँपालिकाले राष्ट्रपतिलाई नै ल्याएर त्यो क्षेत्रको प्रचारप्रसारको प्रयास गरेको हो। थाहाखबर

You can share this post!

म्याग्दीमा पहिलो पटक नगर प्रहरी भर्ना

माविस्तरीय विज्ञान हाजिरीजवाफमा प्रकाश मावि प्रथम

Related posts