जेसीजद्वारा हिमालय आधारभुतका विद्यार्थीलाई न्यानो पोसाक वितरण

म्याग्दी । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोसाकको स्विटर वितरण गरेको हो ।

कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले विद्यार्थीहरुलाई जाडो मौसममा विद्यालयमा आउँदा लगाउनका लागि स्विटर वितरण गर्नुभएको थियो । जाडो याममा बालबालिकाहरुलाई न्यानोको प्रत्याभूति दिलाउन अर्जुन सपिङ सेन्टरको सहयोगमा संस्थाले बालबालिकाहरुलाई स्विटर उपलब्ध गराएको शाखा अध्यक्ष खत्रीले बताउनुभयो ।

कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवालले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत रहेको अवस्थामा जाडो याममा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएर जेसीजले प्रशसनीय सामाजिक कार्य गरेको भन्दै आभार प्रकट गर्नुभएको थियो । उक्त अवसरमा बालकक्षामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री समेत प्रदान गरिएको थियो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । यस अघि गत मंसिरमा म्याग्दी जेसीजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका ३६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो । म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कुमार बानियाँको स्वागत, सुनिता बेलबासेको जेसीज आस्थापाठ र कार्यक्रम संयोजक कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  तस्विरः कलम खत्री 

You can share this post!

बेनपा ४ तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनीको खुल्लामञ्चमा प्याराफिट विस्तार कार्यको शिलान्यास

Related posts