राखुपिप्लेमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना

म्याग्दी । म्याग्दीको गाउँगाउँमा लैङ्गिक हिंसा विरुद्धको अभियान जारीरहेको छ । यसैक्रममा सोमबार रघुगंगा गाउँपालिका–३, राखुपिप्लेमा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसम्बन्धी कार्यक्रम गरिएको हो ।

अभियान अन्तर्गत पिप्लेका महिला, रघुगंगा माध्यमिक विद्यालय राखुपिप्ले र ज्ञानोदय मावि मौवाफाँटका किशोरकिशोरीहरु सहभागी कार्यक्रममा महिनावारी स्वच्छता तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतीकरण कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । कार्यक्रमको उद्घाटन गर्दै राखुपिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले परिवार तथा समाजबाट हिंसा उत्पन्न हुने भएकाले लैङ्गिक हिंसा न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार तथा म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक एवं महिला अधिकारकर्मी रेखाकौशल रेग्मीले लैङ्गिक हिंसा न्युनीकरणमा महिला आन्दोलनको इतिहास र उपलब्धिहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (इऋःऋ)मार्फत उपलब्ध सेवासुविधा तथा सुआहारा कार्यक्रमका विज्ञ बालकुमारी पुनले सुरक्षित एवं मर्यादित महिनावारी र स्वास्थ्यमा पोषणको महत्वका विषयमा सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा राखुपिप्ले स्वास्थ्यचौकीका प्रमुख शिवप्रसाद पाण्डेले १९औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र हिंसा गरेको देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो । वडाध्यक्ष शाहीको अध्यक्षता, सचिव सविता कार्कीको स्वागत, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालन र वडा सदस्य आईती दर्जीको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्य सम्झना परियार र मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रघुगंगा गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्च म्याग्दीले आयोजना गरेका थिएभने रघुगंगा–३, पिप्ले वडा कार्यालय र सुआहारा कार्यक्रम दोस्रोले सहकार्य गरेका थिए । यसअघि बेनी नगरपालिकाको बेनीबजार, अन्नपूर्ण गाउँपालिकाको घार, धवलागिरिको खिबाङ, मालिकाको दिच्याम र देवीस्थानमा लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भैसकेको छ ।

You can share this post!

बेनपाको पात्लेखेत र रत्नेचौरमा पाठेघर सम्वन्धी शिविर

२० औँ जेसिज कप उद्घाटनः खुल्ला मञ्चलाई आकर्षक खेलमैदान बनाउछौँ, मेयर केसी

Related posts