म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ) च्याम्पियन बनेको छ । बुधबार बेनीको खुल्ला मञ्चमा सम्पन्न भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै एपिएफले ट्रफि उचालेको हो ।
खेलको पहिलो सेटमा १९ अंकमा पराजित भएको पुलिसले दोस्रो सेटमा खेल सुधार गरि जितको नजिक पुगेको थियो । निकै नै कडा प्रतिस्पर्धामा २८ का विरुद्ध ३० अंक ल्याउँदै दोस्रो सेटमा पनि एपिएफले जित निकाल्यो ।
करिव १० हजार दर्शको भिडमा रोमाञ्चक भईरहेको खेलको तेस्रो सेटमा भने २४ का विरुद्ध २६ अंक बटुल्दै पुलिसले जितेको थियो । खेलको चौथो सेटमा पुलिसलाई १९ अंकमा पराजित गरि ट्रफि चुमेको एपिएफले सुरुदेखिनै उत्कृष्ट खेल प्रदर्शन गरिरहेको थियो ।
राष्ट्रिय खेलाडी कमला पुनको कप्तानीमा रहेको नेपाल पुलिस सानदार खेल सहित उपविजेता बनेको छ । कप्तान पुनको गृह जिल्ला भएकाले पनि पुलिसलाई दर्शकहरुको राम्रो साथ मिलेको थियो ।
पुलिसको डिफेन्स उत्कुष्ट हुँदा अधिकांस नेपालको राष्ट्रिय टिमका खेलाडी सम्मिलित एपिएफलाई खेल जित हम्मेहम्मे परेको थियो । विनिता वुढाथोकीको कप्तानीमा रहेको एपिएफले सोझो सेटको जित निकाल्न भने सकेन ।
च्याम्पियन बनेको एपिएफलाई जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, समन्वय उपप्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले ट्रफि, मेडल र नगद सहितको पुरस्कार प्रदान गर्नुभएको थियो ।
७ प्रदेश र ३ विभागीय टोली सहित १० समुहका सहभागिता रहेको प्रतियोगितामा बागमती प्रदेशले तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो । गत असोज २७ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।