राष्ट्रिय महिला भलिबलः एपिएफ, पुलिस, बागमती र गण्डकी सेमिफाईनलमा प्रवेश

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद अन्तरर्गत म्याग्दीको बेनीमा संचालन भईरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटर फाईनलका ४ खेल सकिएको छ । सोमवार भएको क्वाटर फाइनलबाट शसस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लव, बागमति र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन ।

आज संचालन भएको एपिएफ र लुम्बिनी प्रदेश विचको पहिलो क्वाटर फाइनलको खेलमा सोझो सेटमा एपिएफ विजयी भएको छ । एपिएफले १९–२५, १८–२५ र १०–२५ अंकका साथ खेल जितेको हो । उक्त खेलमा एपिएफका आरती सुवेदी उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

त्यस्तै बागमती र सुदुरपश्चिम प्रदेश विच भएको दोस्रो क्वाटरफाइनलको खेलमा बागमतीले सोझो सेटमा जित हासिल गरेको छ । १२–२५, १५–२५ र २३–२५ अंकका साथ बागमती विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । उक्त खेलमा बागमति प्रदेशका खेलाडी प्रगतिनाथले उत्कृष्ट खेलाडीको ट्रफि पाप्त गर्नुभएको छ ।

नेपाल आर्मी र नेपाल पुलिस विच भएको क्वाटर फाइनलको तेस्रो खेलमा भने कडा प्रतिस्पर्धाका विच नेपाल पुलिस क्लव विजयी भएको छ । १३ का विरुद्ध २५ अंक लिएर पहिलो सेट जितेको पुलिसले दोस्रो सेटमा पनि २० अंकमा आर्मीलाई पराजित गरेको थियो ।

खेलको तेस्रो सेटमा आर्मीले खेल सुधार गरेपछि २३ का विरुद्ध २५ अंक जोड्दै पुलिसलाई पराजित गरेको थियो भने चौथो सेट पनि पुलिसलाई १४ अंकमा रोकेर आर्मीले जितेको थियो ।

नेपालका राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरु समावेश दुवै टिमले दुई÷दुई सेट हात पारेपछि पाँचौ सेटमा १३ का विरुद्ध १५ अंक लिएर नेपाल पुलिस क्लव विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलको उत्कृष्ट खेलाडी भने म्याग्देली चेली, राष्ट्रिय खेलाडी, नेपाल पुलिस क्लवका कप्तान कमला पुन घोषित हुनुभएको थियो ।

क्वाटर फाइनलको अन्तिम खेल गण्डकी र प्रदेश नम्वर १ विच भएको थियो । उक्त खेलमा गण्डकी सोझो सेटमा विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । गण्डकीले पहिलो सेटमा १०, दोस्रो सेटमा १० र तेस्रो सेटमा १७ अंकमा प्रदेश नम्वर १ लाई पराजित गरेको थियो । उक्त खेलमा प्रदेश नम्वर १ का पूर्णिमा राईले उत्कृष्ट खेलाडीको ट्रफि प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताको सेमिफाइनल मंगलबार संचालन हुने भएको छ । विहान १० बजे एपिएफ र बागमती प्रदेश र दिउसो २ बजे नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच सेमिफाईनलका खेल संचालन हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेल भने बुधबार संचालन हुनेछ । लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, नेपाल आर्मी र प्रदेश नम्वर १ क्वाटर फाइनलबाट बाहिरिएका छन ।

You can share this post!

तेक्वान्दोमा हालसम्म पुलिसले छ, सेनाले तीन र मधेशले एक स्वर्ण जित्यो

तेक्वान्दोको स्वर्ण पदकमा विभागीय टिमको बर्चश्व

Related posts