अन्तर सहकारी बिचको एकता र सहकार्यमा जोड

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सहकारी संस्थाले अन्तर सहकारी बिचको सहकार्य, एकतासँगै साझा कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् ।

आइतबार बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थामार्फत वित्तीय सेवा सहित सामाजिक उत्तरदायित्वका साथै क्षमता विकास, समसामयिक विषयमा नियमित संवादमा जोड दिइएको थियो ।

सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघसँग समेत नियमित कार्यक्रम सञ्चालन गर्ने, ब्याजदर समायोजन लगायत सहकारीका समस्या र समाधानका विषयमा समेत छलफल गर्ने निर्णय भएको बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।

‘सहकारी संस्थाको सहकार्यलाई थप बलियो बनाउने विषयमा साझा धारणा बनेको छ,‘सहकारी मूल्य र मान्यतामा अडिग रहेर सम्बन्धित निकायलाई समेत दवाव दिनेछौ’ अध्यक्ष गिरीले भन्नुभयो ।

सोही कार्यक्रममा बचत तथा ऋण सहित सम्पूर्ण सहकारी संघ संस्थाको दीगोपन, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माणमा सहकारी संघमार्फत थप कार्यक्रमहरु गर्ने संघका कोषाध्यक्ष एवम् पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र शर्माले बताउनुभयो ।

अगुवा सहकारीकर्मीले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष सहित पदाधिकारी, प्रबन्धक, को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

 

You can share this post!

रघुगंगामा सुआहाराको सिकाइ आदानप्रदान, पोषणमा सुधार ल्याउने प्रतिबद्धता

हेर्दै आकर्षक अर्गानिक रेष्टुरेन्ट, जहाँ म्याग्दीका हस्तीहरुको तस्विर कोरिएको छ

Related posts