बेनपा–६ मा कपडा बैंकः विपन्न परिवारलाई निशुल्क दिइने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ ले नजिकिदै गरेको महान पर्व दशैं तिहार तथा जाडो मौसममा वडाका अति गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर ‘कपडा बैंक’ स्थापना गरेको छ । आर्थिक अभावका कारणले चाडवाडको सयममा एकजोड कपडा सम्म किन्न नसक्ने परिवारलाई निशुल्क रुपमा प्रदान गर्ने उद्देश्य राखेर वडा समितिको निर्णय अनुसार कपडा बैंक संचालनमा ल्याईएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।

अथुङ्गेमा निर्माण भएको वडा कार्यालयमा हरेक हप्ताको शनिवार एकदिन खुल्ने गरि कपडा बैंक स्थापना गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । विभिन्न दाताहरुबाट कपडा संकलन कार्य सुरु गरिएको छ । कपडा बैंकमा नयाँ, तथा लगाउन मिल्ने पुराना तर सफा कपडाहरु झुन्ड्याएर सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाईएको छ । यसका लागि वडा कार्यालयको एउटा कोठा प्रयोग गरिएको छ ।

कपडा बैंकमा ज्याकेट, पाइन्ट, कमिज, जुत्ता, चप्पल लगायतका महिला पुरुष तथा बच्चाका कपडाहर र जाडोका लागि न्यानो कपडा समेत राखिने भएको छ । यसका लागि अर्थुङ्गे युनाईटेड क्लव संग सहकार्य गर्ने समेत निर्णय गरिएको छ ।

फेन्सी व्यवसायी संघलाई पसलमा उपयोगमा नआएको कपडा सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ भने गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले पनि यो अभियानमा सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ । त्यस्तै वडाले देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरु समक्ष सहयोगको आव्हान समेत गरेको छ ।

वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन सुरु गरिएको र त्यसैका आधारमा निशुल्क रुपमा कपडा वितरण गर्ने व्यवस्था मिलाईने अध्यक्ष बानियाँको भनाई छ । पछिल्लो समय लगाउन मिल्ने कपडाहरु पनि पेलेर सिरक डसना बनाउन थालिएको छ, नफाटेका तथा लगाउन मिल्ने कपडाहरु नपेली कपडा बैंकमा दिएर सहयोग गरिदिन अनुरोध गरका छौँ, अध्यक्ष बानियाँले भन्नुभयो ।

कपडा बैंकमा आफुले नै कपडा उपलव्ध गराउन सकिने वा सोही बराबरको आर्थिक दिएर सहयोग गर्न सकिने जनाईएको छ । कपडा बैंक र कपडा संकलनलाई अभियानकै रुपमा अगाडी बढाउने र कपडा वढि भएमा विपतको समयमा रेडक्रस तथा अन्य सामाजिक संस्थासंगको सहकार्यमा वडा बाहिर पनि दिन सकिने वडाले जनाएको छ ।

You can share this post!

म्यादी प्रहरीमा भर्ना खुल्योः संख्या १ लाख १५ हजार

न्यु स्टार युवा क्लवको अध्यक्षमा राजु थापा चयन

Related posts