म्याग्दी । ५ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७८÷२०७९ को जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
आइतवारदखि गोष्ठी सुरु भएको थियो । उद्घाटन स्वास्थ्य कार्यालय प्रमुखको अध्यक्षता, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाको विशिष्ट आतिथ्यता, बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
बेनीमा दुइदिन सम्म चलको गोष्ठी सोमबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको उपस्थितिमा ५ बुदेँ प्रतिवद्धता पत्र समेत जारी गरिएको छ । सोही अवसरमा स्थानीय तहहरुको विभिन्न जनस्वास्थ्यका सुचकहरुको आधारमा मुल्याङ्कन गरी मुल्यांकनमा प्रथम हुन सफल बेनी नगरपालिकालाई सम्मान पत्र वितरण गरिएको थियो ।
समापन समारोहमा बोल्दै समन्वय प्रमुख थापाले स्वास्थ्य क्षेत्र अत्यन्तै सम्वेदनशील क्षेत्र भएको र सबै जनसमुदायलाई प्रभावकारी सेवा प्रवाहमा समिक्षाले मार्ग दर्शन गर्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै प्रमुख थापाले स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न जिल्ला समन्वय समितिको तर्फबाट सदा सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले गत आर्थिक बर्षमा लक्ष्य अनुसार प्रगति हासिल गराउनमा महत्वपुर्ण योगदान गर्नुहुने महिला स्वास्थ्य स्वयम् सेविका, सम्पुर्ण स्वास्थ्यकर्मी, स्थानिय तहहरु, अन्य सहयोगी तथा साझेदारी संघ संस्था पत्रकार तथा संचारकर्मीहरु र जिल्ला स्थित विभिन्न कार्यालय र कर्मचारी ज्युहरु लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।