संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

१२ औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर बिहीवार म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया  सम्पन्न भएको छ ।

‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।

द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारी, एड्भोकेसी फोरमलगायत संघसंस्थाद्वारा द्वन्द्वपीडितहरुको हक, अधिकार र सरोकारको विषयलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जालको तर्फदेखि भिडियो डकुमेन्ट्री प्रस्तुत गर्नुका साथै द्वन्द्वपीडित महिला सञ्जालका लेखापाल सुजता खत्रीले आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राज्यबाट न्याय पाउन नसकेको, वास्तविक द्वन्द्वपीडितले राहत नपाएको, पीडकलाई कारवाही नभएको, स्थानीय तहबाट द्वन्द्वपीडितलाई जिविकोपार्जनका कार्यक्रमहरु हुन नसकेको जस्ता पीडासहितका मागहरु राखेका थिए ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले द्वन्द्वपीडितहरुको माग सम्बोधन गर्नका लागि सरकारी नीतिमै परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितहरुको समस्या समाधान गर्नका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले द्वन्द्वपीडितहरुलार्ई राज्यका हरेक क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको हुँदा वास्तविक द्वन्द्वपीडितको पहिचान गरेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय शान्ति समितिका पूर्व संयोजक नेत्रबहादुर महतले अझै पनि वास्तविक द्वन्द्वपीडितहरुले राहत पाउन नसकेको बताउँदै पीडितलाई न्याय दिने सवालमा सरकार उदासीन रहेको बताउनुभयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीका प्रतिनिधि अमृत बास्कुने, गैरसरकारी संस्था महासंघका प्रतिनिधि छवि आचार्य, कोपिला नेपालका मनोविमर्शकर्ता खममाया पुनमगर, द्वन्द्वपीडितहरु देवी केसी, कृष्णलाल श्रेष्ठ, चक्रपाणि आचार्य र माने दमाईले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष राजु रिजालको अध्यक्षता, सचिव सुरेन्द्र केसीको सञ्चालन र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका जिल्ला अध्यक्ष देवी केसीको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

को–अपरेटिभ म्यानेजर्स क्लब, म्याग्दीको अध्यक्षमा कँडेल

बजार अनुगमनमा म्याद सकिएका सामान नष्ट गरियो

Related posts