बेनीमा रंगसंगैको रमाईलो होली

म्याग्दी । म्याग्दी र कालीको संगम स्थल बेनी बजार, सानो अनि चिटिक्क परेको बजार जहाँ विभिन्न पर्वहरुमा विशेष खालका सांस्कृतिक कार्यक्रमहरु संचालन हुन्छन ।

बेनी बजारमा विभिन्न समूहमा मिलेर होली खेल्दै, गीत गाउँदै र नाच्दै बजार परिक्रमा गर्ने प्रचलन पुरानै हो । तर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण बेनीमा विगत ३ बर्षदेखि बजारमा निस्किएर होली मनाउन रोकिएको थियो ।

सांस्कृतिक पहिचान बोकेका पर्वहरुको महत्व बेग्लै, अनि रौनकता पनि बेग्लै । यसपालिको फागुपूर्णि भने बेनीमा विशेष बनेको छ । म्याग्दी जेसिजको आयोजनामा रंगहरुसंगैको रमाईलो सांस्कृतिक कार्यक्रमले यसपालिको होली रंगमय र संगीतमय बनेको हो ।

बेनीको संगमचोकमा विहिबार दिउँसो करिव १ बजेदेखि सुरु भएको कार्यक्रममा कलाकार अमित विश्वकर्मा, ध्रुव जिसी, पदम विश्वकर्मा र मिलन बिश्वकर्माले आफ्ना सांगीतिक प्रस्तुती प्रस्तुत गर्दा रंगसहित रमाईलो गर्नेहरुको निकै भिड देखिएको थियो ।

जेसिजले वर्षेनी आफ्नो समूहमा मात्रै गर्ने होली मिलान कार्यक्रमलाई यस बर्ष विशेष बनाएको हो । कोरोनाका कारण मनोरञ्जनात्मक कार्यक्रमहरु संचालन नभएका कारण होलीमा सांस्कृतिक कार्यक्रम राखि होली खेलीरहेकाहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभएको छ ।

‘होली खेल्दै हिडिरहेकाहरु पनि कार्यक्रम स्थलमा रोकिएर नाचेँ, नखेलाकाहरु पनि घरको छत तथा पेटिमा वसेर आनन्द लिए’ खत्रीले भन्नुभयो ।आगामी बर्षहरुमा होली मिलान कार्यक्रमलाई अझै बिशेष बनाउदै लैजाने अध्यक्ष खत्रीको भनाई छ ।

कार्यक्रममा जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष कमल विश्वकर्मा, बिनय श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

माओवादी केन्द्रको वडा कमिटी एमालेमा समाहित

ताकममा एमालेको प्रशिक्षण

Related posts