च्याङग्रा बेचेर मुस्ताङमा ३५ करोड भित्रियो

मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैंमा सात हजार र तिहारका लागि तीन हजार च्याङग्रा निकासी भएको जानकारी दिनुभयो।

‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्,’उहाँले भन्नुभयो, ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।’ तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।

अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताउनुभयो।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउँदा प्रतिगोटा १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।

 

You can share this post!

स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट म्याग्दीकी रेग्मी पुरस्कृत

प्रधानन्यायाधीशले आफूलाई पनि पेसी तोकेपछि सर्वोच्चको गतिरोध लम्बिने संकेत

Related posts