बेनी नगरपालिकाको स्वास्थ्य संस्थाका कार्यक्रमहरुको वार्षिक समीक्षा सकियो

म्याग्दीको बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा नगरका सबै वडामा सञ्चालित स्वास्थ्य संस्थाका कार्यक्रमहरुमाथिको वार्षिक समीक्षा सञ्चालन गरिएको हो ।
स्थानीय तह भित्रका स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण गर्न, कार्यक्रममा देखिएका कमीकमजोरीहरु पहिचान गरी सुधार गर्ने र लक्षित वर्गमा स्वास्थ्य सेवाको उपभोगको अवस्था तथा स्थानीयस्तरमा योजना तर्जुमा गरी प्राथमिकताका क्षेत्र पहिचानसहित कार्ययोजना निर्माण गर्ने उद्देश्यले वार्षिक समीक्षा आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

दुई दिनसम्म सञ्चालित वार्षिक समीक्षा कार्यक्रमको पहिलो दिन बिहीबार स्वास्थ्य संस्थाहरुको तथ्याङ्क विश्लेषण गरिएको थियो । समीक्षा गोष्ठीमा बेनी नगरपालिका भित्रका ७ ओटा स्वास्थ्यचौकी, चारवटा शहरी स्वास्थ्य केन्द्र र एकवटा सामुदायिक स्वास्थ्य इकाइका एकएक जना प्रतिनिधिहरुको उपस्थिति जनाएका थिएभने उनीहरुले आ–आफ्नो स्वास्थ्य संस्थाबाट भएका कार्यक्रमहरुको प्रगतिका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
समीक्षा गोष्ठीको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्रोतसाधनको उचित प्रयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा दिनुपर्ने भन्दै आवश्यक बजेट र स्रोतसाधनको पूर्ति गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्वास्थ्य संस्थाका तथ्याङ्कलाई यथार्थ र वास्तविक बनाउनुपर्ने बताए । उनले जनताको स्वास्थ्यलाई सबल बनाउनुपर्ने भन्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई सबल र सक्षम बनाउन आवश्यक पहल गरिरहेको जानकारी दिए ।
सोही गोष्ठीमा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले स्वास्थ्यका समग्र सूचकहरुमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले स्वास्थ्यचौकीका इन्चार्जहरुको सशक्तिकरणका लागि बेनी नगरपालिकाले विशेष पहल गर्नुपर्ने बताउँदै स्वास्थ्यको गुणस्तरीय सुधार गर्नुपर्ने बताए ।
बेनपाका प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वास्थ्य संयोजक लिला गौतमले सञ्चालन गरेकी थिइन् भने तालिममा सहभागी जमुना शर्माले अनुभव मन्तव्य सुनाएकी थिइन् ।

You can share this post!

म्याग्दीमा दुई बर्षयता १८ बलत्कार, बलतकृत हुने मध्य १० वालवालिका

संविधान दिवशको अवसर पारेर २८९ कैदीबन्दीको कैद मिनाहा

Related posts