कृष्णनगरको झाडापखाला अझै नियन्त्रणमा आएन

बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । नगरपालिकाको वडा नं ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो ।

झाडापखालाबाट वडा नं ९ का ४५ वर्षका रामप्रसाद केवटको घरमै र वडा नं ८ का ७ वर्षका राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो । तीन वटा वडाका ३०४ चार जना झाडापखालाका बिरामी भई अस्पताल भर्ना भएकामा अझै ११० जना उपचारका क्रममा रहेका छन् ।

बिरामीको चापलाई व्यवस्थित गर्न अस्पतालका बिरामीहरुलाई सामान्य, मध्यम र जटिल गरी वर्गीकरण गरी सामान्य बिरामीहरुलाई नजिकैको महेन्द्र प्रा.वि मा राखी उपचार गर्ने व्यवस्था मिलाइएको छ । अन्यलाई शिवराज अस्पताल र रामगोर्खा माविमा भर्ना गरेर उपचार गराइरहेका शिवराज अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट मुकेश चौधरीले बताउनुभयो ।

झाडापखालाका बिरामी अस्पताल आउने क्रम बढ्दो क्रममा नै रहेको डा। चौधरी बताउंछन् । ‘कतिपय डिस्चार्ज गरेका बिरामी पनि फेरि भर्ना हुन आएका छन्’ उहाँले भन्नुभयो, ‘रातिभन्दा बिरामीको संख्या फेरि बढेको छ,अहिल्यै नियन्त्रणमा आयो भन्न सकिने अवस्था छैन ।’

तीन जना डाक्टरसहित स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेको उनले बताए । छिमेकी नगरपालिका शिवराज र तौलिहवाबाट पनि स्वास्थ्यकर्मी बिरामीको उपचारका लागि शिवराज आएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले भने झाडापखाला नियन्त्रणउन्मुख अवस्थामा आएको बताउनुभयो ।

दूषित पानी र सरसफाइको अभाव मुख्य कारण

झाडापखालाको कारण दूषित पानी र सरसफाइको अभाव भएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्य कार्यालय र अस्पतालले जनाएको छ । प्रभावित गाउँका बासिन्दाले ओभरहेड टंकीमार्फत वितरित धारा र ह्याण्डपम्पको पानी प्रयोग गर्ने गर्छन् । तर कुन धाराको पानी दूषित हो भन्ने यकिन भएको छैन ।

विभिन्न स्थानको पानी र केही बिरामीको दिशाको नमूना संकलन गरी जाँचको लागि प्रयोगशालामा पठाइसकिएको तर रिपोर्ट अझै आइनसकेको स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।

प्रभवित क्षेत्रका सबै घरधुरीमा शौचालय पनि नहुँदा कतिपय परिवार खुला स्थानमा शौच गर्ने अवस्था भएको नगर प्रमुख रजतप्रताप शाहको भनाई छ ।

अनलाइन खबरबाट

 

 

 

You can share this post!

शुरु भयो महान चाड बडादशैं, आज जमरा राख्ने दिन

छोरी जन्माउने १४ आमा सम्मानित

Related posts