गंगा पुन
म्याग्दी, मङ्सिर २ ।
अन्नपूर्ण गाउँपालिका–३ दानामा दुईदिन सम्म संचालन भएको निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।
प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका छन ।
दानाका वडा अध्यक्ष रमेश पूर्जाले दिएको जानकारी अनुसार चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको छ ।
दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । ५÷६ वर्ष सम्म आँखा नदेखेकाहरुले उपचार पस्चात आँखा देख्न पाउँदा खुसि भएका थिए ।
शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो । फ्रेण्डी व्रदर्श दाना सेरोफेरोका निवर्तमान अध्यक्ष बल पूर्जाले आँखाको रोगबाट ग्रसित विरामीहरुलाई लक्षित गरि संचालन गरिएको शिविरमा आर्थिक अवस्था अनुसार विरामीहरुलाई खान बस्नको समेत व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउँदै स्थानीय व्यवस्थापकको रुपमा समन्वय गर्ने वडा कार्यालय, आमा समुह, युवा क्लव, विद्यालय लगायतलाई आभार प्रकट समेत गर्नुभएको थियो ।