म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरू गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाले ४ जना सहजकर्ता छनौट गरी तालिम समेत दिएको छ ।
कृषि पेशामा प्रोत्साहन गर्न तथा अनुदान दुरुपयोग तथा अन्य सेवासुविधालाई समेत कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रम अन्तरगत ८ वटै वडामा रहेको ३६ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण संकलन गरेपछि वडा कार्यालयले प्रमाणिकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।
‘कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिने छ’ सुबेदीले भन्नुभयोे । गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनौट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क संकलनका लागि परिचालन गरेको छ ।
तालिमको अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचिकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न समेत सघाउने बताउनुभयो । ‘कृषि कर्ममा लागेकाको बास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन समेत सहज हुन्छ,एकजना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी परिचालन गरेका छौ’ उपाध्यक्ष पुनले भन्नुभयो ।
कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मल–खाद एवम् किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि समेत सघाउने गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारको मापदण्डमा ८ आना वा सो भन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचिकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्राबधना रहेको छ । सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गर्नुभएको थियो ।
सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमामिणकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । किसान भएर पनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गदैं आइरहेका छन् ।