म्याग्दीमा तिव्र रुपमा फैलिदै ‘लम्पी स्किन’ रोग, हाल सम्म ७२६ गाईगोरु मरे

म्याग्दी, २७ साउन । म्याग्दीमा ‘लम्पी स्किन’ रोगले ७२६ वटा गाईगोरु मरेका छन् । गतबर्षको चैतबाट देखिएको लम्पी स्किन रोगबाट पाचँ महिनाको अवधीमा सात हजार ५४३ वटा गाईगोरुमा संक्रमित भएका छन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका निमित्त केन्द्र प्रमुख रामकृष्ण सुवेदीले तीव्र रुपमा फैलिएको लम्पीको संक्रमणबाट गाई, गोरु, बाच्छा÷बाच्छीसहित ७२६ वटा पशुहरु मरेको बताउनुभयो । उहाँले संक्रमण देखिएकोमध्ये तीन हजार ९९६ वटा जनावरहरु निको भएको जानकारी दिनुभयो ।

म्याग्दीमा रहेका ६ स्थानीय तहमध्ये रघुगंगा गाउँपालिकामा ब्यापक रुपमा फैलिएको छ । अहिले रघुंगगामा १ हजार ५८५ पशुहरु संक्रमित छन् । लम्पी स्किनले रघुगंगामा १८१, धवलागिरीमा १९०, अन्नपूर्णमा १५६, मालिकामा १३७, मंगलामा ३२ र बेनी नगरपालिमामा ३० वटा गाई गोरु मरेका छन् ।

रोग तीव्र गतिमा फैलँदै गएपछि सो विरुद्धको खोप लगाउने कामलाई पनि तीव्र पारिएको छ । रोग नियन्त्रणका लागि संक्रमित नभइसकेका पशुलाई लगाउन विज्ञ केन्द्रले चार हजार ५०० सय खोप लिएर रघुगंगाबाहेक अन्य पालिकामा चार हजार २ सय खोप पशुसेवा प्राविधिकलाई उपलब्ध गराएर लगाईएको निमित्त प्रमुख सुवेदीले बताउनुभयो ।

“खोप अभियानलाई तीव्रता दिए पनि पशुमा संक्रमण र मर्ने दर भने नियन्त्रण भएको छैन, गण्डकी प्रदेश सरकारबाट औषधी लगायत सामग्री किन्न १० लाख उपलब्ध गराएको थियो, सो बजेटमार्फत चार हजार पाचँसय खोप किनेर पालिकालाई वितरण गरेका छौ, हामीसंग तीनसय खोप बाँकी छ,” – सुवेदीले भन्नुभयो । “प्राप्त बजेटको अभावले किसानको पशुचौपायामा देखिएको यो रोगको निराकरण गर्ने आवश्यक औषधी लगायतको सामाग्री उपलब्ध गराउन सकेका छैनौ ।”

यो रोगको सङ्क्रमण हुँदा गाई गोरुमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दाना पानी नखाने, दुहुना गाईको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटेर घाउँ हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्युसमेत हुने गरेको छ । यो रोगले पशुको उत्पादकत्व क्षमता घटाउने हुदाँ पशुपालक किसानलाई निराश बनाएको केन्द्र प्रमुख सुवेदीले भन्नुभयो ।

सरुवा रोग भएको कारण यसले विस्तारै भैसीमा पनि फैलिने सम्भावना रहेको केन्द्रले जनाएको छ । लम्पी स्किन रोगको महामारीले गाईरगोरु बिरामी हुँदा र मर्दा रोपाइँसमेत प्रभावित बनाएको थियो । अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका थिए ।

You can share this post!

निजी शैक्षिक संस्थाको योगदानलाई सरकारले कदर गर्नुपर्नेमा सरोकारवालाको जोड

जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ चयन

Related posts