म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाट निवासी रमेश फगामीले आफ्नो जन्म जिनको अवसरमा म्याग्दी बालगृहका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका –७ का वडा सदस्य समेत रहनुभएका फगामीले आफु ४८ औँ बर्षमा प्रवेश गरेको अवसरमा बिहिबार विहान बालगृहका बालबालिका रु २५ हजार ५०० रुपैयाँ बराबरको खाद्यान्न प्रदान गर्नुभएको हो ।
नुन, तेल, दाल, चामल, चिनी लगायतका खाद्यान्नहरु नेपाल बाल संगठनका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गरिएको फगामीले बताउनुभयो ।
साथीभाईहरुलाई पार्टी दिदै अनावश्यक खर्च गरेर जन्मदिन मनाउन भन्दा जन्मदिनको अवसरमा सामाजिक सेवा गर्ने चाहनाले बालगृहका बालबालिकालाई खाद्यान्न उपलब्ध गराएको फगामीले बताउनुभयो ।
जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गर्दै पूण्य कार्य गर्नुभएकोमा फगामीलाई धन्यवाद दिदै बाल संगठनका सचिव खत्रीले सेवा नै सवैभन्दा ठुलो धर्म भएको बताउनुभयो ।
‘फजुल खर्च गर्ने होइन, बरु दुखि, गरिव असहायहरुलाई सहयोग गर्ने भावना हामी सवैमा हुनुपर्दछ’, फगामीले भन्नुभयो । फगामीले बालगृहका बालबालिकाहरुले जन्मदिनको शुभकामना प्रकट गरेका थिए ।
नेकपा एमाले बेनपा ७ का वडा कमिटी अध्यक्ष समेत रहनुभएका फगामीले यस अघपनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ ।