म्याग्दी । म्याग्दीका ६ वटा पालिकामा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा म्याग्दीका १ नगरपालिका र ५ वटा गाउँपालिकामा सो रकम बेरुजु देखिएको महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त आवमा मालिका गाउँपालिकाको सबैभन्दा धेरै र रघुगंगा गाउँपालिकाको कम बेरुजु रकम देखिएको छ । मालिकाको १ करोड ३९ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यो कुल रकमको १.७५ प्रतिशत हुन आउँदछ । जिल्लामा सबैभन्दा कम बेरुजु रघुगंगा गाउँपालिकाको रहेको छ । रघुगंगाको ३६ लाख २७ हजार रुपैयाँ अर्थात जम्मा खर्चको ०.४७ रहेको छ ।
प्रतिवेदन अनुसार बेनी नगरपालिकाको १ करोड ३९ लाख ५२ हजार रुपैयाँ अर्थात १.१५ प्रतिशत, धवलागिरीको ८३ लाख ३४ हजार रुपैयाँ अर्थात ०.७३ प्रतिशत, अन्नपूर्णको ६४ लाख ८३ हजार रुपैयाँ अर्थात ०.७३ प्रतिशत र मंगला गाउँपालिकाको ४० लाख ४८ हजार रुपैयाँ अर्थात ०.४८ प्रतिशत बेरुजु रहेको छ ।
उपभोक्ता समितिमार्फत हुने काम, कार्यालय सञ्चालन, कर्मचारीको प्रोत्साहन तथा नियुक्ति लगायतका शिर्षकमा स्थानीय तहमा बेरुजु देखिएको महालेखाले जनाएको छ ।
महालेखाको २०७६÷०७७ को अन्ठाउन्नौं प्रतिवेदनमा ८ करोड ५५ लाख २७ हजार रुपैयाँ बेरुजु रहेको थियो, भने, २०७७÷०७८ मा बेरुजु रकम घटेको देखिन्छ । बेरुजुमा जिल्लाका स्थानीय तहहरुले सुधार गर्दै गएको प्रतिवेदनमा देखिएको छ ।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६÷०७७ मा बेनी नगरपालिकामा २ करोड ८ लाख रुपैयाँ अर्थात १.६० प्रतिशत, रघुगंगामा १ करोड ७० लाख ८२ हजार रुपैयाँ अर्थात १.९९ प्रतिशत, धवलागिरीमा १ करोड ५७ लाख ८ हजार रुपैयाँ अर्थात १.९८ प्रतिशत, मालिकामा १ करोड ३० लाख ५७ हजार रुपैयाँ अर्थात १.५३ प्रतिशत, मंगलामा १ करोड २५ लाख ९३ हजार रुपैयाँ अर्थात १.६० प्रतिशत र अन्नर्पूणमा ६२ लाख ८७ हजार रुपैयाँ अर्थात ०.७४ प्रतिश बेरुज देखाएको थियो ।