बालमन्दिर आधारभूत विद्यालयद्वारा जनप्रतिनिधिलाई बधाइज्ञापन तथा स्वागत

म्याग्दीको बेनी नगरपालिका–८, बेनीबजारस्थित कालीपुलमा सञ्चालित बालमन्दिर आधारभूत विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिलाई आज बधाइज्ञापन तथा स्वागत गरेको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट म्याग्दीको बेनी नगरपालिका र ८ नम्बर वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइज्ञापन गरिएको हो ।

विद्यालयले बेनी नगरपालिकाको प्रमुखमा निर्वाचित सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, सदस्यहरु हिरा पुन, यामबहादुर बानियाँ, जानकी विश्वकर्मा र नरु थजालीलाई बधाइज्ञापन गर्नुका साथै स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकार, प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले अबिर र खादा लगाएर स्वागत तथा बधाइज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र विद्यालय प्रशासन एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाको ८ नम्बर वडामा एउटा मात्रै सरकारी विद्यालय बालमन्दिर आधारभूत रहेको बताउँदै विद्यालयको समग्र विकास तथा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नगरपालिका र आफ्नो तर्फदेखि आवश्यक पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आजको विद्यार्थी भोलि समाजको विकास र देशको नेतृत्व गर्ने भएकाले अहिलेदेखि सही नीति बनाएर व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । उहाँले बालबालिकालाई विद्यालय तहदेखि नै योग्य र सक्षम नागरिक बनाउन प्रेरित गर्नुपर्ने बताउँदै नगरपालिकामार्फत आवश्यक शैक्षिक नीतिलगायत निर्माणमा ध्यान दिइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ केसीले समग्र विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । बेनी नगरपालिका–८, बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य र सदस्य हिरा पुनले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम विव्यस अध्यक्ष चर्मकारको अध्यक्षता र शिक्षक दिपक गर्बुजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

कुँहुका जनप्रतिनिधिले खादाको सट्टा फुलको मालालाई प्राथमिकता दिने

बेनी नगरको विकासमा निजी क्षेत्रसँग सहकार्य गछौँः मेयर केसी

Related posts