डेढदशक अघि परिकल्पना गरिएको रावर्ण पार्कको योजना अघि बढ्यो

डेढदशक अघि परिकल्पना गरिएको रावण पार्क निर्माणको योजना अघि बढेको छ । बेनी बजारको शिरमा रहेको धार्मिक स्थल पुलस्त्यपुलह आश्रम (पछै) मा रावण पार्क बनाउन लागिएको हो । बेनीको पौराणीक स्थानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न बेनी नगरपालिकाले रावणको जन्मस्थानमा पार्क बनाउन थालेको हो ।

पन्ध्रवर्ष अघि तत्कालिन म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद श्रेष्ठले यस स्थानमा रावण पार्क बनाएर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने परिकल्पना अघि सार्नुभएको थियो । विभिन्न चरणमा छलफल भएपनि स्थानीय तहमा जनप्रतिनिधि नभएकाले यो योजना अघि बढ्न पाएको थिएन । पछिल्लो समय बेनी नगरपालिकाले रावण पार्क बनाउन डिपिआर तयार पारेर योजना अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा नगरले चालु आर्थिक वर्ष देखि रावण पार्कका लागि पूर्वाधार निर्माण थालेको छ । पहिलो चरणमा तिन करोड २४ लाख रुपैयाँ बरावरको लगत स्टिमेट तयार पारी भौतिक संरचना निर्माण गर्न थालिएको बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।

 

रावण पार्क बनाउनका लागि गत असोज १५ गते बेनी नगरले धर्म एस काश्यप जेभी सँग १७ महिनामा सक्ने गरी एक करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो । मन्दिर भित्र पार्क,पुराना संरचनाको मर्मत र वाहिर पर्खाल र पार्क सहित रावणको मुर्ती स्थापना गरिने इन्जिनियर कार्कीले बताउनुभयो ।

मन्दिर भित्र रहेको पुरानो इतिहास नाभी गाडेको स्थान,हवन कुण्डको संरक्षण लगायतका कामहरु हुने उहाँले बताउनुभयो । पित्तलबाट निर्माण गरिएको दशवटा टाउका भएको २० फिट अग्लो रावणको मुर्ती राख्ने योजना रहेको इन्जिनियर कार्कीले बताउनुभयो । साथै पार्कमा पुग्नका लागि सडक मर्मत तथा स्तरोन्नती गरिने योजनामा समावेश गरिएको छ ।

काठमाण्डौमा रावणको मुर्ती बनाउनेसँगै पौलस्त्य पुहलआश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत घेराबार सहितको पूर्वाधार बनाउने काम सुरू भएको बेनी नगरका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा रावणको मुर्ती बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गरिने छ । पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले एक करोड १३ लाख रुपियाँ बिनियोजन गरिएको छ । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रावण पार्क बनाइने योजना छ ।

रावण पार्क र वडा नम्बर ६ मा प्रवेशद्धार सहितका संरचना निर्माणका लागि करिब ५५ करोड रुपैयाँ बराबरको डिपिआर तयार पारिएको छ । डिपिआर अनुसारका पूर्वाधारहरु क्रमश निर्माण गर्दै जाने बेनी नगरपालिकाको योजना छ । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि बेनी नगरपालिकाले रावण पार्क सहित पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाएको हो ।

हिन्दु धर्मग्रन्थ भागवतमा रामायणको पाँचौ अध्यायमा रावणको जन्म पुलाको पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ । समुन्द्रि सतहदेखि एकहजार सातसय मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भू–भाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ । रावण पार्क बनाएपछि यहाँ विश्वभरका हिन्दुधर्मालम्बीहरुलाई ल्याउन सकिने म्याग्दी उद्योग वाणिज्य पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । डिपिआर अनुसार पूर्वाधार विकास गरेर यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा लैजानुपर्ने उहाँले बताउनुभयो ।

 

You can share this post!

निर्वाचनको तयारी, प्रशिक्षणमा जुट्यो एमाले

जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बानियाँ

Related posts