बेनी नगरपालिकाको घतानमा व्यवसाय सचेतनासम्बन्धी तालिम सुरु, उद्यमी बनेर रोजगारी सिर्जना गर्नुपर्नेमा सरोकारवालाको जोड

प्रताप बानियाँ, म्याग्दी ।समुदायस्तरमा लघुउद्यम व्यवसाय सुरु गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सचेतना तथा सुरुसम्बन्धी तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–९, घतानमा आज (मङ्गलबार)देखि तालिम सुरु गरिएको हो ।

चालु आर्थिक वर्षको बजेटबाट गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यवसाय सचेतना तथा सुरु तालिम र लैङ्गिक सामाजिक समावेशीकरणसम्बन्धी विषयमा तालिमको आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । ७ दिनसम्म व्यवसाय सचेतना तथा सुरु तालिम र एकदिन लैङ्गिक सामाजिक समावेशीकरणको विषयमा सहजीकरण गरिने भएको छ ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण क्षेत्रमा बाँझो तथा खेर गैरहेको जग्गाजमिनको सदुपयोग गरी उद्यमको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपमा उतारेर उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिँदै आर्थिक समृद्धि हासिल गर्नका लागि कृषि र पशुपालनको क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गाउँमै लघुउद्यमको माध्यमबाट स्वरोजगार एवं आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ ।

सोही तालिममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले व्यवसाय दर्ता गरेमा कर तिरिरहनुपर्छ भन्ने सोचलाई परिवर्तन गरी उत्पादनको क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सानो भए पनि व्यवसाय सुरु गरेर अगाडि बढ्नुपर्ने बताउँदै लघुउद्यमले मानिसलाई उत्पादनसँग जोड्ने भएकाले आर्थिक उपार्जनको क्षेत्रमा सहयोग पु¥याउने बताउनुभयो ।

बेनी नगरपालिकाका शाखा अधिकृत युवराज थापाले जागिरभन्दा पनि व्यापार, व्यवसाय र उद्यमलाई जोड दिन आग्रह गर्दै व्यवसाय सञ्चालन गर्दा चाहिने आवश्यक सहजताका लागि बेनी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

तालिम उद्घाटनसत्रको समापन गर्दै घतानका वडा अध्यक्ष बेलबहादुर चोखालले वडामा यसअघि पनि मुढा बुन्ने, अगरबत्ती बनाउनेलगायत विभिन्न सिपमूलक र व्यवसायसँग सम्बन्धित तालिम तथा कार्यक्रमहरु सञ्चालित गरिएको जानकारी दिनुभयो ।

तालिममा बोल्ने वक्ता तथा सरोकारवालाले लघुउद्यमसम्बन्धी तालिमपश्चात् उद्यममार्फत समुदायमा रोजगारको सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । तालिमको स्वागतसहित बेनी नगरपालिकामार्फत सञ्चालित मेड्पा कार्यक्रमका फोकलपर्सन कुलचन्द्र रेग्मीले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । एक हप्तासम्म चल्ने तालिमको बेनी नगरपालिकाका उद्यम विकास सहजकर्ताद्वय सरिता शर्मा र सीता अर्मजाले स हजीकरण गरिरहनुभएको छ ।

 

उद्यम विकास सहजकर्ता अर्मजाको सञ्चालनमा सम्पन्न तालिममा घतानका २५ जनाले सहभागिता जनाएका छन् । तालिम अवधिभरमा लघु तथा घरेलु उद्यम सुरु तथा सञ्चालन, दर्ता प्रक्रिया, उद्यम तथा व्यवसाय गर्दाका फाइदाहरु, यसका लागि आवश्यक पर्ने तत्वलगायत विभिन्न विषयमा सहजीकरण गरिने जनाइएको छ ।

You can share this post!

बेनी बजारमा लागु गरिएको एकतर्फी यातायात संचालन २ महिनामै हटाईयो

थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश अर्को बैठक फागुन ६ गते

Related posts