चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितीको बैठक

काठमाण्डौ । वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिती घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा छ ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिती तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आजसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा छ ।

पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितीको बैठक आज बोलाइएको छ । पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकाको चुनाव सारेर पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर सत्तारुढ दल र कांग्रेसभित्रै यस विषयमा सहमति जुटेको छैन ।

सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ । वैशाखमा सङ्घीय संसद्को चुनावमा जाँदा प्रतिनिधि सभा विघटन गर्नुपर्ने र यो फेरि अदालती विषय बन्न सक्ने भएकाले गठबन्धनका नेताहरुले निर्णय गर्न सकेका छैनन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा सङ्घीय चुनाव गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि बसेको समन्वय समितीको बैठकमा राखेका छन् । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसँग भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको चुनाव एकैपटक गर्दा उपयुक्त हुने बताएका छन् ।

वैशाखमा सङ्घीय चुनाव गर्नु उपयुक्त हुने नेता नेपालको पनि धारणा छ । तर वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव पछि धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा के गर्ने भन्ने निर्णयमा पुगेका छैनन् । संविधानविद्हरुले पनि पालिकाको चुनाव पर धकेल्नु संविधानको मर्म विपरीत हुने बताउँदै आएका छन् ।

You can share this post!

उपत्यकामा जोर बिजोर लागू

देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

Related posts