बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि बृहत पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिममा सक्रियतापूर्वक सहभागी भई आगामी दिनमा कुशल प्रशिक्षक बन्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्र कति संवेदनशील रहेछ भन्ने विषय स्वास्थ्यको क्षेत्रभन्दा बाहिर रहेकाले पनि राम्रोसँग बुझेको बताउँदै पछिल्लो समय स्वास्थ्य क्षेत्रको संवेदनशीलता र महत्व बढ्दै गएको बताउनुभएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अहिले विश्व समुदाय कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको र तेस्रो लहरको संघारमा रहेकाले यसबाट जोगिन तथा जोगाउँदै खोप पनि सञ्चालन गर्नुपर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले गरिबीको मुख्य सूचक कुपोषण रहेकाले कुपोषण नभएको समाज एडभान्स समाज रहेको भन्ँदै तालिमलाई भरपुर रुपमा उपयोग गरी समुदायस्तरमा पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ ।


स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमलाई समुदायमा छिटो लैजानका लागि तालिम आयोजना गरिएको जानकारी दिँदै गरिबीको मुख्य कारण कुपोषण भएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो । आगामी ७ दिनसम्म चल्ने तालिममा जिल्लाको ६ वटा स्थानीय तहको स्वास्थ्य शाखाबाट २ जनाका दरले सहभागिता रहेको छ ।
पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजका तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने, पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप एवं धारणामा सकारात्मक परिवर्तन गर्न र कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्शसम्बद्ध ज्ञान, सिप र क्षमताको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
तालिम अवधिभरमा राष्ट्रिय पोषण नीति तथा रणनीति, बहुक्षेत्रीय पोषण योजना र महत्व, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, मातृ पोषण, पुरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्वहरु, वृद्धि अनुगमन तथा महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालीन पोषण बीचको सम्बन्ध, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनका विषयमा सहजीकरण गरिनेछ ।
यसैगरी बहिरङ्ग सेवाको परिचय, सिबिआईएम एनसिआई अनुसार स्वास्थ्य लेखाजोखा, शीघ्र कुपोषण पत्ता लगाउन पोषणको लेखाजोखा, प्रणालीबद्ध औषधीबाट उपचार, अन्तरङ्ग सेवाको परिचय र उपचार पद्धति, गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय शासनको अवधारणा र आपूर्ति व्यवस्थापन सूचना प्रणाली लगायतका विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।
तालिमको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रुबी जोशी, रामचन्द्र पन्थी, मिरा बम र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुहुनेछ । तालिमको उद्घाटसत्र स्वास्थ्य कार्यालय प्रमुख लम्सालको अध्यक्षता, परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालन र सिअहेव सोमनाथ उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

आनन्दबगरमा रातको समयमा अवैध बालुवा चोरी गर्नेलाइ प्रहरीले यसरी नियन्त्रणमा लिएको थियो भिडियो सहित

फेवातालको १६१० रोपनी जग्गा व्यक्तिको नाममाः प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा देउवा सरकारलाई

Related posts