मिलन म्याग्दीको तीज र महिला सशक्तिकरण विषयक अन्तरक्रिया तथा नृत्य प्रतियोगिता

मिलन म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा तीज र महिला सशक्तिकरण विषयक अन्तरक्रिया तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदानसहित अन्तरक्रिया र नृत्य प्रतियोगिता गरिएको हो ।

कार्यक्रममा विगतको समयका तीज र वर्तमानमा तीज पर्वको अवस्था एवं महिला सशक्तिकरणको विषयमा सहभागीहरुबीच अन्तरक्रिया र छलफल भएको थियो । कार्यक्रमका सहभागीहरुले तीज पर्व बिहे गरेर पराई घर गएकी छोरी र माइती परिवारको बीचमा भेटघाट गर्ने एउटा माध्यम भए पनि पछिल्लो समयमा भने तीज पर्व अलि भड्किलो बन्दै जान थालेको हुँदा सचेत हुनुपर्ने बताएका थिए ।

विगतका तीजमा महिला दिदीबहिनीहरुले पाएको दुःख, पीडा, बेदना, पिरमर्काका गीतहरु सुन्न पाइने भए पनि अहिले भने फरक किसिमका गीतसङ्गीतहरु बज्न थालेकोमा सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए । विगतको समयभन्दा पछिल्लो समय महिलाहरु पनि आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अगाडि बढेकाले महिला सशक्तिकरण हुँदै गएको उनीहरुको भनाइ थियो । तीज पर्वको परम्परालाई जोगाउन तथा एकापसमा आत्मीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मिलन म्याग्दीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मिलन म्याग्दीका आजीवन सदस्य एवं धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले तीज पर्वलाई भड्किलो नभई सांस्कृतिक परम्परा कायम हुने गरी मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अवसरमा आयोजित नृत्य प्रतियोगितामा १५ जना सहभागी भएका थिए । गोलाप्रथाद्वारा विजेता छनोट गरिएको उक्त प्रतियोगितामा मिलन म्याग्दीका कार्यालय तथा जिन्सी सहायक चन्द्रावती खत्री प्रथम, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत विजया पराजुली द्वितीय र मिलन म्याग्दीको वकालत तथा सञ्जालीकरण विभाग संयोजक एवं गैरसरकारी संस्था महासंघका पूर्व जिल्ला कोषाध्यक्ष विष्णु रोकामगर तृतीय हुनुभएको थियो ।

विजेताहरुलाई क्रमशः एकएक वटा मायाको चिनो लेखिएको मिलन म्याग्दीको लोगो अङ्कित कप र सुआहारा कार्यक्रमको डायरी प्रदान गरी अबिर तथा खादा लगाएर पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन, मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँ र निवर्तमान अध्यक्ष विनय श्रेष्ठले पुरस्कृत गर्नुभएको थियो ।

अध्यक्ष शिव बानियाँको अध्यक्षता, उपाध्यक्ष कमला थापाको स्वागत र कोषाध्यक्ष तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीको कार्यसमिति सदस्य एवं सूचना, सञ्चार अभिलेख व्यवस्थापन तथा प्रकाशन विभागका संयोजक प्रताप बानियाँले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । हरितालिका तीज पर्वको पूर्वसन्ध्याको अवसरमा आयोजित उक्त कार्यक्रममा दर समेत खुवाइएको थियो ।

You can share this post!

बरंजाको आर्भाङ्गमा राष्ट्रिय युवा संघ मंगला ३ र ४ को विस्तार भेला

एकल नृत्य प्रतियोगीतामा बाग्लुङकी जिबिता खत्री प्रथम

Related posts