वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक बन्द

लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री ९सापकोटा० को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर क्षेत्रमा सडक बन्द भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ ।
पहिरो पन्छाउनका लागि सडक आयोजनाको डोजर, एक्स्काभेटर लगायतका सामान तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने जोखिम रहेकाले काम गर्न नसकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । यस्तै वर्षाकै कारण पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि बन्द भएको छ । यस खण्डको बेनी नगरपालिका ४ घुमाउने भिर तथा मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको हो । यस्तै बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका २ खबराको भसभसेमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको छ ।

You can share this post!

कोभिडले सुनसान उपल्लो मुस्ताङमा देखिन थाले आन्तरिक पर्यटक

कालीगण्डकीमा खसेको पहिरोले कालीपुल बस्ती जोखीममा ७ घरमा क्षती ,तीन जना घाईते

Related posts