ललिन्द्रका गजल लेख्ने हातले चित्र कोरेपछि

तिम्रो आँखामा मैले मेरै अनुहार देखिरहेछु,
सपनी तिम्रै किन हर बारबार देखिरहेछु ।

माथि लेखिएको गजलको सुन्दर सेर गजलकार ललिन्द्र थापा मगरद्वारा सिर्जना गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका बरंजाका ललिन्द्र थापा मगर एक साहित्यप्रेमी हुन् । उनी गजल लेख्न रुचाउँछन् । मगरको ‘स्मृतिका पल’ नामक गजल सङ्ग्रह–२०६४ प्रकाशित समेत भएको छ ।
उनी कविता पनि लेख्छन् । वेष्ट प्वाइन्ट मा.वि. म्याग्दीको आयोजनामा भएको स्कुल स्तरीय चित्रकला प्रतियोगिता–२०६१ सालमा तृतीय, जिल्ला शिक्षा कार्यालय म्याग्दीको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता–२०६२मा तृतीय, जुनियर रेडक्रस सर्कल मंगला मा.वि. बाबियाचौरको आयोजनामा भएको कविता प्रतियोगितामा द्वितीय समेत भएका छन् । प्रकृतिसँग अत्याधिक प्रेम गर्ने मगर सानैदेखि घण्टौंसम्म प्रकृतिसँगै रमाउथे । साथीहरु नहुँदापनि प्रकृतिलाई साथी मानेर खेल खेल्थे । घर वरिपरि देखिने र भेटिने प्राकृतिक दृष्यहरुलाई मनले कोर्थे र दुरुस्तै कागजमा पनि उतार्थे । यस अर्थमा उनको रुची साहित्यसँगै चित्र लेखन पनि हो भन्न सकिन्छ ।


मध्यम वर्गीय परिवारमा जन्मिएका उनी पिताको मायाबाट भने सानैमा बञ्चित हुनुप–यो । पाँच सन्तानमध्ये कान्छो उनी २०६३ सालमा प्रथम श्रेणीमा एस.एल.सी पास गरेपछि घरको आर्थिक अवस्थाकै कारण परदेशिन बाध्य भए । साहित्य र चित्रकलाको क्षेत्रमा नाम कमाउने उद्देस्य बोकेका मगर पढ्ने रहरहरुलाई विचैमा छाड्नुप–यो । परदेश रहँदा उनले भोगेका पीडा र पसिनाहरु सीमित शब्दहरुभित्र कैदगर्न मुस्किल पर्दछ तरपनि परदेशिनु उनको बाध्यता थियो । करिव ८वर्षको खाडी बसाइँ सकेर फर्किएपछि उनी होटल ब्यवसायसँगै आफ्नो रुचीको पेसा पेन्टिङ ब्यवसायमा समेत लागेका छन् । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित इन्द्रेणी टोलमा रहेको ‘होटल लगिन’ को प्रोप्राइटर समेत रहेका मगरको होटेलका भित्ताहरुमा उनी आफैंले कोरेका चित्रहरु अहिले पनि देख्न सकिन्छ । म्याग्दी जिल्लाको ग्रामिण परिवेश, रहनसहन, प्राकृतिक सौन्दर्यता, मनोरम हिमश्रृङ्खला, कला, संस्कृति आदि मौलिकताहरुलाई उनी आफ्नो चित्रहरुमा उतार्ने गर्दछन् ।
हारेको कहाँ छु र ? मेरा आशाहरु छन्
बुझ्नैपर्ने कठिन केही भाषाहरु छन् ।


……………………..
थाहा छ जिन्दगीको भोगाईहरुमा
तोड्नुपर्ने अनगिन्ति पासाहरु छन् ।
आफ्नो प्रमुख ब्यवसाय होटल भएपनि साहित्य लेख्ने र चित्रकार बन्ने उनको बाल्यकालकै लक्ष्य अहिलेपनि जीवितै रहेको उनी बताउँछन् । ‘सानैदेखि साहित्य लेख्ने र चित्र बनाउने गरेको थिएँ, वैदेशिक रोजगारका कारण केही समय चित्र कोर्न र साहित्य क्षेत्रबाट टाढा भएँ । अब भने वैदेशिक रोजगारीले खुम्च्याएको रुचीलाई निरन्तरता दिनेछु,’ मगरले भने । उनले आफ्नो रेष्टुरेण्टको काउण्टरदेखि गेष्ट रुमसम्मका हरेक भित्ताहरु आफैंले सिर्जना गरेका चित्रहरुले सजाएका छन् ।
पोखराका प्रसिद्ध कलाकार आलोक गुरुङसँग एक महिना चित्रकलाको तालिम लिएका मगर कुराकानीको सिलसिलामा भन्छन्, ‘एउटा पेन्टिङमा मैले दुईघण्टादेखि चार दिनसम्म विताएको छु ।’ आफ्नो रुचीलाई श्रीमतीले समेत नजिकबाट बुझेका कारण परिवारको साथ र सहयोगले यहाँसम्म आइपुग्न सफल भएको उनको बुझाई रहेको छ । विहानदेखि साँझसम्म रेष्टुरेण्टमा ब्यस्त रहन्छन् । ब्यस्त समयकाबीचमा पनि धौलागिरी हिमाल, ग्रामिण बस्ती, हिमालको निश्चल र पवित्र हाँसो, राताम्मे फूलेका लालिगुराँस, लगायत सयौंका पेन्टिङ गरिसकेका छन् । क्यानभास, एक्रेलिक, पेन्ट गर्ने पेन्सिल, रङ, लगाएतको प्रयोगले तयार गरिएका पेन्टिङले उनको कोठामात्र होइन, रेष्टुरेण्टको माहोल नै फरक बनाएको छ ।


पछिल्लो समय उनको पेन्टिङ मन पराएर स्थानीयदेखि पोखरासम्मका पेन्टिङप्रेमीहरुले खरिद गरेर लाने गरेका छन् । जसका कारण नयाँनयाँ विषयहरुका चित्र कोर्न उनलाई थप हौँसला पनि मिलेको छ । आफ्नो पेसाबाट परिवारका सदस्य, आफन्त र साथीहरु समेत उत्साहित भएकाले थप अगाडि बढ्न सहज भएको युवा लेखक तथा चित्रकार मगरको बुझाई रहेको छ ।
होटल ब्यवसायमा संलग्न भएपनि लेखक तथा कलाकारको रुपमा आफ्नो परिचय दिन उनी रुचाउँछन् । सरकारी र निजी संघ÷संस्थाहरुले जन्मदिन तथा ब्यक्तिगत प्रयोजनका लागि चित्र किनेर उपहार लिने÷दिने गरेमा वा रुम तथा घरहरु सजाउने गरेमा यो पेसालाई निरन्तरता दिन सजिलो हुने उनको तर्क रहेको छ । उनको भविष्यको योजना एउटा सफल लेखक र चित्रकार बन्ने रहेको छ, साथै यसै वर्षदेखि बाँकि रहेको पढाइलाई पनि निरन्तरता दिने उनको इच्छा रहेको छ ।
बुलबुल साप्ताहिकबाट

You can share this post!

झोलामा छन् म्याग्दीका उपभोक्ता अधिकार मञ्च

पुलाचौर स्वास्थ्यचौकीलाई अस्ट्रेलियाबाट साढे दुईलाख भन्दाबढीको स्वास्थ्य सामग्रीहरु सहयोग

Related posts