मंगला माविका विद्यार्थी पढाई संगै कृषि खेतितर्फ आकर्षित

म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालयमा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माविमा प्राविधिक धार कक्षा (९–१२) मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो ।

बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई ‘विद्यार्थी च्याउ’ पनि भन्ने गरिएको छ । विद्यालयले प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका हुन् । विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु एक सय २५ मा बिक्री वितरण हुँदै आएको बालीविज्ञान संयोजक विवेक किरण सापकोटाले बताउनुभयो ।

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेका छन् । गत माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रुपमा च्याउ खेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा संगै खेतबारीमा पनि बित्ने गरेको छ ।

गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी लागेको कक्षा १२ मा अध्ययनरत छात्रा बर्षा बानियाँ र कक्षा ९ की मुना बानियाँले बताउनुभयो । विद्यार्थीले मौसम अनुकुलको उत्पादन गर्न सक्ने गरी बाली विज्ञान विषयका संयोजक विवेक किरण सापकोटा, शिक्षक करण कँडेल, दिपा केसी लगायतले प्रयोगात्मक अभ्यासलाई पाठ्यपुस्तक सरह समय विभाजन गरेपछि विद्यार्थीलाई सहज भएको छ ।

विद्यार्थीले विषादीरहित उत्पादन गर्ने गरेका छन् । मल बोक्ने, बारी खनजोत, गोडमेल, नियमि हेरचाह गर्ने विद्यार्थीले तालिका नै बनाएको विद्यालयका प्रधानाध्यापक खत्रीले बताउनुभयो । दुई रोपनी जमिनले अपुग भएपछि थप जग्गाको समेत ब्यवस्थापन गरी विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने वातावरण बनाउने बताउनुभयो ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउ खेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको छ ।

एउटा टनेलबाट विद्यार्थीले २० केजी बिक्री गरिसकेका छन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गलाले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बेमौसमी तरकारी, टमाटर, प्याजको बीउ लगायत उपज फलाउने गरेका छन् । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ ।

You can share this post!

मोना कुवेतद्वारा महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण

गण्डकीमा माओवादीले कांग्रेस सरकारमाथिको समर्थन फिर्ता लियो

Related posts