भलिबल प्रशिक्षक बानियाँले बेलायतमा ३ क्लबलाई प्रशिक्षण दिए

म्याग्दी । मोना भलिबल क्लवको निमन्त्रणामा पाँचौँ मोना भलिबल प्रतियोगिताका लागि अतिथिको रुपमा बेलायत पुगेका म्याग्दीका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बेलायतका ३ वटा क्लबलाई भलिबल प्रशिक्षण दिनुभएको छ ।

गत असार ६ गते बेलायत पुग्नुभएका बानियाँले रोजगार, व्यापार तथा अध्ययनको सिलसिलामा बेलायत पुगेका म्याग्देली पुरुष तथा महिला भलिबल खेलाडीहरुलाई प्रशिक्षण दिनुभएको हो ।

त्यस्तै उहाँले मोना बाहेक पर्वत सालिजा समाज युकेका महिला खेलाडीलाई समेत प्रशिक्षण दिनुभएको छ भने उइनचेस्टर भलिबल क्लबलाई पनि प्रशिक्षण दिनुभएको बानियाँले बताउनुभयो ।

मोनाको निमन्त्रणामा बेलायत भ्रमणका क्रममा रहेका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष समेत रहेका बानियाँले त्यहाँ रहेका खेलाडीहरुको सिप तथा दक्षता वढाउनका लागि क्लबहरुको अनुरोध अनुसार प्रशिक्षण दिएको बताउनुभयो ।

‘भलिबल खेलप्रति यहाँका युवाहरुमा धेरै रुचि देखियो, प्रशिक्षण र त्यसपछिको नियमित अभ्यासले खेलाडीहरु निपुण हुनेछन’, बानियाँले भन्नुभयो ।
प्रशिक्षणमा शारिरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङ्गर, डिक, डिफेन्स, ब्लक, सेटिङ, स्पाईकर, ग्रीप, जस्ता अभ्यास गराईएको छ ।

युकेमा रहदा म्याग्दीका पुराना खेलाडीहरु संग समेत भट्ने अवसर मिलेको र उहाँहरुसंग जिल्लाको भलिबल खेलको विकास र जिल्ला भलिबल संघको योजनाको विषयमा समेत छलफल भएको प्रशिक्षक बानियाँको भनाई छ ।

बेलायतमा भलिबल प्रतियोगिताको आयोजना बेला बेलामा भईरहने हुँदा पनि प्रशिक्षणबाट खेलाडी उत्साहित भएको उहाँको भनाई छ । बानियाँलाई युकेमा मोना सहित म्याग्दीका विभिन्न समाज तथा अन्य नेपाली समाजहरुले पनि स्वागत एवम् सम्मान गरेका छन ।


मोनाले हरेक बर्ष प्रतियोगिताको आयोजना गर्ने गरिएकाले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै खेलप्रति रचि बढाउनका लागि पनि प्रशिक्षण दिईएको मोना भलिबल क्लवका अध्यक्ष प्रविण रानाले बताउनुभयो ।

स्वस्थ र तन्दुरुस्त रहनका लागि र म्याग्देली तथा नेपालीहरु विचको आत्मियता बढाउनका लागि खेलकुद कार्यक्रमको महत्वपूर्ण भूमिका रहने हुँदा मोनाले हरेक बर्ष भलिबल प्रतियोगिता संचालन गर्दै आएको मोना युकेका अध्यक्ष कुमार फगामीले बताउनुभयो ।

आफु खेल खेल्दा प्रकाश माविको टिम क्याप्टेनको रुपमा रहेका बानियाँले म्याग्दी बहुमुखी क्याम्पस र केवाईसी कल्व घतान हुँदै म्याग्दी जिल्लाको टिम क्याप्टेन पनि सफलताका साथ सम्हाल्नुभएको थियो ।

बानिँयाले राष्ट्रिय भलिबल रेफ्रि, रिफ्रेसर कोर्स पनि हासिल गर्नुभएको छ भने सन २०१९ मा नेपालबाट सहभागी हुँदै भारतको बेङ्लरबाट भलिबल प्रशिक्षक सर्टिफिकेट कोर्स गरेर उत्कृष्ट समेत हुनुभएको थियो ।

प्रदेश खेलकुद परिसदले संचालन गरेको ३ महिने भलिबल प्रशिक्षण कोर्स पुरा गरेका बानियाँले म्याग्दीमा विभिन्न विद्यालय, गाउँका क्लव, गाउँपालिका तथा पर्वत, बाग्लुङ, मुस्ताङ, कास्की समेतका जिल्लाहरुका खेलाडीहरुलाई पनि प्रशिक्षण दिनुभएको छ ।

बानियाँले गुल्म, गण, पृतनामा रहेका नेपाली सेनाका खेलाडीहरुलाई पनि प्रशिक्षण दिईसक्नुभएको छ । त्यस्तै जिल्ला खेलकुद विकास समितिमा रहेर १ बर्ष भलिबल प्रशिक्षकको रुपमा काम गर्नुभएको छ ।

गण्डकी प्रदेशको टिमलाई आठौँ राष्ट्रिय खेलमा टिम कोच र अन्तराष्ट्रिय खेलाडी सम्मिलित राष्ट्रिय क्लब टिप टप हेल्प नेपालको टिमको मुख्य प्रशिक्षकका रुपमा पनि बानियाँले जिम्मेवारी सफलतापूर्वक निभाउनुभएको थियो ।

प्रशिक्षक बानियाँले आफ्नो जीवनको करिव १८ बर्षको युवा समय भलिबल खेलक्षेत्रमा विताउनुभएको छ । जिल्लामा खेलाडी संगै रेफ्रि, प्रशिक्षक उत्पादन तथा भलिबल संघलाई अगाडि बढाउनका लागि पनि बानियाँले अमुल्य योगदान पु¥याउँदै आउनुभएको छ ।

You can share this post!

म्याग्दी बहुमुखि क्याम्पसमा आत्महत्या रोकथाम सम्वन्धि प्रशिक्षण

मेयर केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाय

Related posts