धवलागिरीका शिक्षकलाई शैक्षिक तालिम

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाका शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन सम्वन्धी तालिम दिईएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । शिवाङको हेम माविमा शनिबार उक्त तालिमको समापन गरिएको हो ।

तालिममा २८ वटा विद्यालयको आधारभूत तहमा अध्यापन गराउने १०४ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर वालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने विषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराइएको लर्नका कृष्ण तिलिजाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको तालिमको उपाध्यक्ष रेशम पुन मगरले समापन गर्नुभएको थियो । समापन कार्यक्रमको अध्यक्षता जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतमले गर्नुभएको थियो ।

विद्यार्थीमा पढाईप्रति रुची तथा सिकाई उपलब्धी बढाउन शिक्षकहरुले सिर्जनशिलता र प्रविधिको प्रयोग गर्नुपर्ने उपाध्यक्ष पुनले बताउनुभयो । पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी बिद्यार्थीहरुलाई रमाइलोका लागि नाच्दै गाउँदै पढाउने तरिका सिकाइएको छ । कार्यक्रमका लागि धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलीयाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु. दश लाख बिनियोजन भएको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिईने अध्यक्ष पुनले बताउनुभयो । यो कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गर्नेछन् ।

You can share this post!

धौलागिरि अधिकृत विक्रेता संघको अध्यक्षमा राजन श्रेष्ठ

लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव आदानप्रदान

Related posts