बेनीमा बीमा सचेतना कार्यक्रमः सिटिजनद्वारा १ करोड मृत्युदावि रकम भुक्तानी

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा जीवन विमा सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल विमा प्राधिकरणको विमा सचेतना अभियान अन्तर्गत सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले विहिबार जिल्ला समन्वय समितिको सभाहलमा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष उपस्थितिमा विमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार मृत्यदावि रकम भुक्तानी गरेको छ । सिटिजन शुभारम्भ बिमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो ।

रु ५० लाखको विमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम र रु ५० लाख र किरिया खर्च बापतको रु ५० हजार गरि एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २० बर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक बर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गर्नुभएको थियो भने एक बर्षको मात्रै रकम उहाँले भुक्तानी गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय श्रेष्ठ र आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महजोडीको रुपमा परिचित कलाकारद्वय श्रेष्ठ र आचार्यले जीवन बीमा भविश्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिनुभयो । ‘‘ मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’– श्रेष्ठले भन्नुभयो ।

कलाकार आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीको रुपमा काम गरेको बताउँदै समुन्नत समाज निर्माणका लागि सरकारले पनि नागरिकको जीवन वीमामा सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नयाँ र आकर्षक सुविधाहरु प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमाल र सुनिल पोखरेल, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, शाखा प्रमुख भावना पोडेल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो भने कुवेर पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

अन्नपूर्णको दाना, तातोपानी र पोखरेबगरमा बजार अनुगमन

लोकप्रीय गायक रवि कार्कीको रे रे साईलो सार्वजनिक (भिडियो सहित)

Related posts