म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्वर ३ फलियागाउँमा रहेको धनजनता माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मदन मल्ल चयन हुनुभएको छ । मंगलबार विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले मल्ललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्य समितिको सदस्य सचिवमा विद्यालयको प्रधानाध्यापक पूर्ण बहादुर भण्डारी रहनुभएको छ । सदस्यहरुमा जनप्रतिनिधिको तर्फबाट वडा नम्वर ३ का वडा सदस्य शेर बहादुर मल्ल, ओम प्रसाद भण्डारी, होसियारसिंह विश्वकर्मा, जोक प्रसाद भण्डारी, मैना मल्ल, चुनदेवी विश्वकर्मा र विन्दु खत्री चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष मल्लले जानकारी दिनुभयो । त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्षमा नारायण पाण्डे चयन हुनुभएको छ ।
३ बर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएका युवा समाजसेवी मल्लले शिक्षक, विद्यार्थी र अभिभावक विच सहकार्य गरि विद्यालयलाई उत्कृष्ट बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले विद्यार्थीहरुलाई अनुशासनको दायरामा राखि मेहनती लगनशिल बन्न प्रेरित गर्दै व्यवहारिक ज्ञान प्रदान गर्नतर्फ पनि शिक्षकहरुलाई ध्यानाकर्षण गराउनुभएको छ ।
यसपछिका एसईईमा उत्कृष्ट नजिता प्राप्त गर्ने गरि शैक्षिक कार्य योजना बनाएर अगाडी बढ्न शिक्षकहरुलाई अनुरोध गर्दै अध्यक्ष मल्लले घरमा आफ्ना नानीबाबुहरुलाई ख्याल गर्न र पढ्ने उपयुक्त वातावरण सृजना गराउन अभिभावकहरु लाई आग्रह समेत गर्नुभएको छ ।
साथै यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई सुरु गरेकोले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउदै लैजाने र यसका लागि देश तथा विदेशमा रहेका मुना बासीहरु तथा स्थानीय सरकारसंग पनि समन्वय गर्ने अध्यक्ष मल्लले बताउनुभएको छ ।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मल्ल सहित सदस्यहरुलाई वडा अध्यक्ष देवेन्द्र रोकाले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रकट गर्नुभएको थियो ।
२०२७ सालमा स्थापना भएको विद्यालयमा फलियागाउँ, मुना, दर, मच्छिम लगायतका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । हाल विद्यालयको सुविधा सम्पन्न दुईवटा नयाँ भवन निर्माण भएका छन ।