सञ्चार क्षेत्रको सवलिकरणमा सहयोग गछौँः नगर प्रमुख केसी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसीले सञ्चार क्षेत्रको विकास र सवलीकरणमा नगरपालिकाबाट सधै सहयोग हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले बेनीको बालमन्दिरचोक स्थित महासंघको कार्यालयमा बुधबार बिहान आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नगर प्रमुख केसी र उपप्रमुख ज्योति लामिछानेलाई महासंघका शाखा अध्यक्ष प्रकाश पौडेल, पूर्व अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का सल्लाहकार ठाकुर प्रसाद आचार्य लगायतले अविर र खादा लगाएर बधाई ज्ञापन गर्नुभएको हो ।

बधाई ज्ञापन गर्दै महासंघका अध्यक्ष पौडेलले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि नगरपालिकाले उपलब्ध गराएको जग्गा विवादमा रहेकाले समस्या समाधानका लागि आवश्यक काम कार्वाही अगाडि बढाउन अनुरोध गर्नुभयो ।

अध्यक्ष पौडेलले जिल्लामा संचालित संचार माध्यमहरुको सवलिकरणका लागि आवश्यक कार्यक्रम संचालन गर्न, पत्रकारहरुको क्षमता अभिवृद्धिका तालिमहरु संचालन गर्न, विज्ञापनको न्यायोचित वितरण गर्न, नगरपालिकाका विज्ञापन जिल्ला बाहिरको संचार माध्यममा जाने अवस्थाको अन्त्य गरि स्थानीय संचारमाध्यमलाई प्राथमिकता दिन नगर प्रमुखलाई अनुरोध गर्नुभएको छ ।

निर्वाचित नगर प्रमुख, उपप्रमुख र संचारकर्मी विच भएको अन्तक्रिया कार्यक्रम पछि बोल्दै नगर प्रमुख केसीले नगरपालिकाको आन्तरिक आम्दानी अत्यन्तै न्युन देखिएकाले त्यसलाई वृद्धि गर्ने गरि आम्दानीको श्रोत खोज्न लागिरहेको बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका नगर प्रमुख केसीले आफ्नो कार्यकाल सफल बनाउनका लागि पत्रकारको भुमिका तथा सहयोग महत्वपूर्ण हुने बताउनुभयो । कति वेला गलत गर्छ र लेखमला भनेर बस्न भन्दा पनि सुरुमै सजग बनाउने गरि सल्लाह सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

पत्रकारको भवनका लागि आफु सकरात्मक रहेको बताउँदै तत्कालै छलफल गरेर निष्कर्ष निकाल्ने प्रमुख केसीले बताउनुभयो । बाहिर जाने विज्ञापनलाई रोक्ने र स्थानीय संचार माध्यमलाई प्राथमिकता दिने वातावरण तय गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बेनी बजारमा ट्राफिक व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा पनि आवश्यक सुझाव संकलन गरि निर्णय गर्ने उहाँले बताउनुभयो । नगर क्षेत्रमा कार्यरत मजदुरहरुको खर्च कम गरि बचत गर्ने बानीको विकास गर्नका लागि श्रम कार्डको व्यवस्था गरि दैनिक बाट मासिक रुपमा ज्याला प्राप्त हुने व्यवस्था गर्न आवश्यक देखिएको बताउनुभयो ।

उहाँले जेठ १५ गते देखि नै बेनी नगरपालिकाको सवै वडाको स्वास्थ्य संस्थामा ४५ बर्ष भन्दा माथिको नागरिकका लागि नसर्ने रोगको परिक्षण गर्ने गरि तयारी थालिएको बताउनुभयो ।

त्यस्तै उपप्रमुख लामिछानेले असल सल्लाहकारको भूमिकामा रहेर साथ दिन सवै संचारकर्मीहरुलाई अनुरोध गर्नुभयो । नगरपालिकाका धेरै वस्तिहरुमा आधारभूत आवश्यकता समेत परिपूर्ति नभएकाले त्यसलाई मध्यनजर गर्दै योजना निर्माण गर्ने बताउनुभयो ।

समाजका सवै पक्षलाई सवल बनाउन सशक्तिकरणका कार्यक्रम संचालन गर्ने उहाँको भनाई थियो । नगरका ग्रामिण भेगका विद्यार्थीहरुलाई सरकारी विद्यालयमा आकर्षित गराउनका लागि आवश्यक कार्ययोजना तयार गरि लागु गरिने उहाँले बताउनुभयो । अनुगमनलाई प्रभावकारी बनाउने, सेवालाई सहज, सरल र पारदर्शी बनाउने गरि काम सुरु गरिने उहाँको भनाई छ ।

पुष्प खेतिलाई प्राथमिकता दिई खादाको ठाउँमा फूलको मालाको प्रयोग बढाउने उपप्रमुख लामिछानेको भनाई थियो । शाखा अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको संचालन र सचिव सन्तोष गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध

अपाङ्गता भएका व्यक्तिहरुको उत्थान गर्ने नगर प्रमुख केसीको प्रतिवद्धता

Related posts