पोखरार २० औं संस्करणको आहा १ रारा गोल्डकप प्रतियोगिता दर्शकविना नै संचालन हुने भएको छ । आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत् सो घोषणा गरेको हो । प्रतियोगिता माघ ६ गते अर्थात् बिहीबारबाट माघ १५ गतेसम्म पोखरा रंगशालामा आयोजना हुँदैछ ।
क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार राज्यले जारी गरेको स्वास्थ्य मापदण्डलाई ख्यालमा राख्दै यो निर्णय गरिएको हो । ‘हाम्रा लागि दर्शक र प्रतियोगिता उत्तिकै महत्वपूर्ण कुरा हुन् । त्यसो भन्दैमा हामी आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्न चाहँदैनाँ’,अध्यक्ष गुरुङले भने,‘सहारा क्लब फुटबलको विकासमा निरन्तर लागेको क्लब हो । खेलकुदलाई रोक्न हुन्न भन्ने लक्ष्यका साथ दर्शकविना पनि प्रतियोगिता गर्न लागेका हौँ ।’
कोरोनाको असर कम भएको खण्डमा दर्शक राख्न सकिने उनले बताए । ‘सुरुमा विना दर्शक नै खेलाउँछाँै । महामारी घटेको अवस्था रह्यो भने पुनः दर्शकका लागि खुल्ला गर्नेछौँ । ’
प्रतियोगितामा अमेरिकाको बिवाइएससी मिनेसोटा, आयोजक सहारा क्लब पोखरा, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, संकटा क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, हिमालयन शेर्पा क्लब र थ्रिस्टार क्लबको सहभागिता रहनेछ ।प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा आयोजक, एक विदेशीसहित ८ ए डिभिजन क्लबहरुको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार आम्दानी र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान रहेको अधिकारीले जानकारी दिए । क्लबले विगत १९ वर्षदेखि वेसहारा बालकहरुका लागि फुटबल खेल प्रशिक्षणका साथै एकेडेमी संचालनार्थ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ बालकहरु आश्रित रहेका छन् ।