ओलीसँग वामदेवको माग पार्टी एकता गराउने जिम्मा मलाईदिनुस्

नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले पार्टी एकताको मुख्य जिम्मेवारी आफूलाई सुम्पन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् । आज बालुवाटारमा आयोजित केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा उनले आफूले सबैको चित्त बुझाउने गरी एकता गराउन सक्ने दावी गरे ।
यसअघि आफ्नो सम्वोधनमा ओलीले गौतमलाई ‘धेरै आउने जाने नगरी एमालेमै रहन’ आग्रह गरेका थिए । त्यसको जवाफमा वामदेवले आफू एमालेमा आइसकेको बताए । तर, पार्टी एकताको अपरिहार्यतामा उनले जोड दिए ।
उनले भने, ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’
तर, आफूले ओलीका हरेक कुरालाई समर्थन जनाएर ताली बजाउन नसक्ने उनले प्रष्ट पारे ।
‘तपाईंले आउनुस् भन्नुभाको छ । म तपाईंको सुझावलाई मान्छु । तर म क्रिटिकल पनि छु है भन्ने विषय पनि अवगत गराएको छ । जे(जे शब्द आउँछन्, ताली बजाउँदै समर्थन गर्ने होइन । राम्रोलाई समर्थन गर्ने हो, नत्र यो ठिक भएन भन्ने हो ।’
आफू पार्टी एकता गराउने उद्देश्यले नै एमालेमा आएको गौतमले दोहोर्‍याए ।
उनले भने, ‘म तपाईंसँग आएको छु पार्टी एकता गराउनका लागि । मेरो प्रस्तावलाई सही ठान्नुहुन्छ भने एउटा माग गर्न चाहन्छु । कम्युनिष्टहरुसँग कार्यगत एकता तथा फुटेको पार्टी जुटाउने सम्वन्धमा हाम्रो पार्टीबाट तपार्इंले नेतृत्व गर्नुस् भनेर मलाई दिनुस् । तपाईंको मुख्य जिम्मेवारी यही भो भनेर छोड्दिनुस् । यति समयमा भन्न सक्दिनँ तर ढिलोचाँडो सबैको चित्त बुझ्ने गरी, कोही असहमत नहुने गरी पार्टी एकता गराउँछु । वामपन्थि एकता पनि गराउँछु । म पार्टीलाई पुरानो अवस्थामा पुर्‍याउन लाग्छु । मेरो आत्मविश्वास के छ भने म त्यसमा सफल हुन्छु ।’
‘आज म यति बोल्न पाउँदा धेरै खुशी भाछु । मरो खुशीको केही(केही मूल्य राखिदिनुस् । तपाईंसँग सँगै बसेर आलोचना गर्ने, कहिले रिस उठाउने नगरेको झण्डै दुई वर्ष भएको थियो । तपाईं वामदेवले फेरि विरोध गर्न थाल्यो भन्ने नठान्नुस् । म तपाईंको सबैभन्दा नजिक छु । अहिले पनि तपाईं सफल हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’

नेपाल प्रेसबाट

You can share this post!

दुर्घटना अपडेट तिन जना घाईतेहरुको उपचारका लागि पोखरा रिफर गरीयो

ठाकुर र यादव समूहले निर्वाचन आयोगलाई भने– हामी सँगै बस्न नसक्ने भयौं, अलग गरिदिनुस्

Related posts