समाचारको भेरिफाई गरेर बाहिर ल्याएमा प्रेस र पत्रकारिताको गरिमा माथि उठ्छ मन्त्री पौडेल

१६ कार्तिक २०७८,  म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समाचारको भेरिफाई र पुष्टि गरेर बाहिर ल्याएमा प्रेस जगत र पत्रकारिताको गरिमा बढ्ने बताउनुभएको छ । आज (मङ्गलबार) प्रेस सेन्टर नेपाल जिल्ला समिति म्याग्दीको सदरमुकाम बेनीमा चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेलले नेपालको संविधानले प्रेस जगतलाई जनताको लोकतान्त्रिक अधिकारको प्रकटीकरण गर्ने अधिकारका रुपमा उल्लेख गरेको बताउनुभयो । उहाँले झण्डै ७० वर्षसम्म कुण्ठा, आफ्ना विचार र दृष्टिकोण अभिव्यक्त गर्न नपाएको, स्वतन्त्रता प्रकट गर्न नपाएको स्थितिबाट अगाडि बढेर हक अधिकारहरु प्रकटीकरण गर्ने अवस्थाको सिर्जना गरिएको बताउनुभयो ।

मान्छेका व्यक्तिगत भनाइ, दृष्टिकोण तथा सोचलाई जस्ताको तस्तै प्रतिस्पर्धा गर्न पाउने प्रणालीको व्यवस्था गरिएकाले त्यसको अगुवाई प्रेसले गर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो– ‘भेरिफाई नभएका, हुँदै नभएका कुराहरु कसैलाई उराल्नप¥यो भने र झराल्नप¥यो भने अनावश्यक रुपमा गलत उद्देश्यले प्रेरित भएर प्रेसलेचाहीँ आफ्नो गरिमामय भूमिकालाई त्यो ठाउँमा नपुर्याओस  ।’

मन्त्री पौडेलले भन्नुभयो, ‘कसैको चाहना, कसैको इच्छामा कसैलाई झराल्न र कसैलाई माथि ल्याउनका निम्ती नगरेका कुराहरुको बनावटी समाचार बनाएर सम्प्रेषण गरियो भने त्यसको गुमराह आफैतिर फर्किएर आउँछ । त्यसले आफैलाई राम्रो गर्दैन । आजभोलि कहिलेकाहीँ पुष्टि नभएका कुरा कसैले भन्दियो भने भेरिफाई नगरिकन बाहिर सार्वजनिक गर्दिहाल्ने । र उसलाई नैतिक धरातलमा पु¥याइदिने क्रियाकलापबाट प्रेस जोगिनुपर्छ । त्यसैले मात्र प्रेसको गरिमा र पत्रकारितालाई माथि उठाउँछ ।’

‘अरु सबै ठिक छ, तपाइँहरुले गरेका भूमिका, आलोचनाहरुप्रति सकारात्मक रुपमा हामीले लिने गरेका छौं । राज्यका कतिपय निकायले गरेका कामहरु, भ्रष्टाचारका कुराहरु राज्यको महत्वपूर्ण ठाउँमा गएका व्यक्तिहरु डराउने भनेको प्रेससँग हो । मन्त्री पौडेलले भन्नुभयो, प्रेसले खबरदारी पनि गरेको छ । मैले सम्मान प्रकट गर्न चाहन्छु । अलिकति भेरिफाई गरेर, पुष्टि गरेर समाचार सम्प्रेषणका लागि अनुरोध गर्न पनि चाहन्छु ।’
मन्त्री पौडेलले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले म्याग्दी जिल्लालाई एउटा सेन्टर पोइन्टको रुपमा विकास गर्न लागेको बताउँदै पर्यटनको केन्द्र बन्ने बताउनुभयो । उहाँले अब जिल्लाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत जनतासँग जोडिएका प्रश्नहरुको बारेमा आफूलाई तिखारेर राज्यसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा क्रियाशील पत्रकारतर्फ लक्षित गर्दै मन्त्री पौडेलले जिल्लाको ठोस–ठोस समस्याहरु, जिल्लाका ठोस–ठोस अगाडि बढाउनुपर्ने कामहरु र महत्वपूर्ण कामहरुलाई सञ्चारमाध्यममार्फत जोड दिएर प्रचारप्रसार गर्न सुझाव दिनुभयो । उहाँले आफूलाई मन्त्रीको रुपमा मात्र नभई एउटा नजिकको सहयोगी र मित्रको रुपमा सम्झिएर जिल्लाका समस्याहरुको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो ।
सोही अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको छ । उहाँलाई शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोविन्द पौडेल र संयोजक रेशम जुग्जाली लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, समृद्ध साप्ताहिक, म्याग्दी अनलाइन र कोरला पोष्ट अनलाइनसँग आबद्ध हुनुहुन्छ ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारीका जिल्ला संयोजक प्रताप बानियाँ र प्रेस युनियनका अध्यक्ष राकेश शर्माले मन्तव्य राखेका थिए । चौथो जिल्ला सम्मेलनले पुनः कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको प्रेस सेन्टर म्याग्दीले जनाएको छ ।

You can share this post!

छाप युवा क्लव द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन तथा बृद्धहरुलाई न्यानो कपडा बितरण

बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

Related posts