म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन सम्वन्धी तालिम

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

साताव्यापी रुपमा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै प्रशिक्षक कमलराज देवकोटाले नयाँ परिस्थितिमा म्याग्दी जिल्लाले आफैं ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

“ज्ञान काठमाडौंबाट जहाज चढेर आउँदैन,” डा. देवकोटाले भन्नुभयो, “प्रशिक्षकले सबै कुरा सिकाउँछ भन्ने भ्रममा कोही पनि पर्न भएन । मुख्य कुरा ज्ञान उत्पादन गर्ने म्याग्दी आफैले हो ।” तालिमका क्रममा सहभागीहरुले सिकाइमा निकै चाख दिएको बताउँदै देवकोटाले भन्नुभयो, “काठमाडौंबाट हेर्दा म्याग्दी जिल्ला दुर्गम देखिन सक्छ । तर, त्यसो होइन । विज्ञान प्रविधिको विकासले इच्छाशक्ति हुनेलाई ज्ञान उत्पादनमा निकै सहयोग गरेको छ । म्याग्दी क्याम्पसले पनि यसको उपयोग गर्नुपर्छ ।”

सोही कार्यक्रममा बोल्दै म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानको वातावरण तयार भएको विचार व्यक्त गर्नुभएको छ । “म्याग्दी जिल्लामा अनुसन्धानको संस्कृति सुरु गर्ने जिम्मेवारी पनि म्याग्दी क्याम्पसको काँधमा आएको छ,” अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “प्रशिक्षकहरुले भोक जगाउने मात्र हो । थप खोज गर्ने र अघि बढ्ने काम क्याम्पस प्रशासन र प्राध्यापकहरु हो । आर्थिक र प्रशासनिक सहयोगका साथै आवश्यक परेमा क्याम्पसले मेन्टरको पनि व्यवस्था गर्न सक्छ ।”

प्रशिक्षणका लागि बेनी आउनुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर वासुदेव काफ्लेले क्युएए मूल्याङ्कनको लागि अबका सूचकहरु पहिलेभन्दा फरक र कठोर हुन सक्ने सङ्केत गर्दै त्यसतर्फ सचेत हुन सरोकारवालाहरुलाई सुझाव दिनुभएको छ । “म्याग्दी क्याम्पसले क्युएए प्राप्त गर्दा अनुदान आयोगबाट जस्तोखाले शङ्काको लाभ पाएको थियो अबको दिनमा त्यो नदोहोरिन सक्छ,” प्रा.डा. काफ्ले भन्नुभयो, “यसलाई मध्यनजर गर्दै सञ्चालक समिति, क्याम्पस प्रशासन, प्राध्यापक र सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।”

तालिम समापनको अवसरमा बोल्दै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले पनि म्याग्दी बहुमुखी क्याम्पसले क्युएए पुनर्मूल्याङ्कनमा पर्नका लागि अनुसन्धान लेख प्रकाशनलाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । तालिमका विषयवस्तुमाथि त्रिभुवन विश्वविद्यालयका प्रा. डा. वासुदेव काफ्ले, अनुसन्धान संस्था सेरिडका प्रमुख डा. कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु खिमराज सुवेदी र पिताम्बर पौडेलले सहजीकरण गनुर्भएको थियो ।

तालिममा म्याग्दी बहुमुखी क्याम्पस बेनी, मङ्गला बहुमुखी क्याम्पस बाबियाचौर, प्रकाश माध्यमिक विद्यालय बेनी र पौलस्त्य मावि, भीरमुनीका २८ जना शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो । असार ५ गते सुरु भई शनिबार सम्पन्न भएको तालिमको उद्घाटन र समापनसत्रको सञ्चालन क्रमशः निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटा र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले गर्नुभएको थियो ।

You can share this post!

रणवाङको हिलाम्मे सडकमा धान रोपियो

म्याग्दीमा असार २० र २१ गते राष्ट्रपति रनिङ शिल्ड हुने

Related posts