म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्वाचित प्रमुख राजकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।
सोमवार मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै थापाले कार्यकक्षमा गई पदभार ग्रहण गर्नुभएको हो ।
नि. समन्वय प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थापालाई पदभार ग्रहण गराउनुभएको हो । त्यस्तै उपप्रमुख डिल कुमारी खत्रीले पनि पदभार ग्रहण गर्नुभएको छ ।
थापाले आजै उपप्रमुख सहित समन्वय समितिका सवै सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको छ । पदभार ग्रहण गर्दै समन्वय प्रमुख थापाले कानूनले निदिष्ट गरेको काम, कर्तव्य र अधिकारको सिमा भित्र रहेर जिल्लाका सवैपक्ष संग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।
उहाँले जिल्लाको विकास र समृद्धिका लागि प्रदेश तथा संघ सरकार संग समन्वय गरि आवश्यक योजना संचालन गर्न आफु निरन्तर लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।
पार्टीको कार्यकर्ता नभई जिल्लाकै प्रमुखको हैसियतमा रहेर जिल्लाको हितका लागि अग्रसर रहने उहाँको भनाई थियो । साथै उहाँले रचनात्मक सल्लाह, सुझाव तथा सहयोगका लागि समाजका सवै पक्षसंग अपिल समेत गर्नुभएको छ ।
उपप्रमुख खत्रीले जिल्लामा संचालित योजनाहरुको निरन्तर अनुगमन, सरकारी कार्यालयको सेवा प्रवाहको अनुगमन तथा जनमैत्री कार्यका लागि आफु सदैव तयार रहने बताउनुभयो ।
एकता र सहकार्यले जिल्लाको मुहार फेर्न सकिने भन्दै उहाँले पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई जनताको पक्षमा समर्पित गर्ने बताउनुभएको छ । सोही अवसरमा नयाँ समितिलाई स्वागत र पुरानो समितिलाई विदाई समेत गरिएको छ ।
स्वागत तथा विदाई कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नरदेवि पुनले जिम्मेवारीलाई कुशलताका साथ निभाउन नवनिर्वाचित समन्वय प्रमुख, उपप्रमुख लगायत सवै सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।
उहाँले जिल्लामा संचालनमा रहेका योजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि अनुगमन र निगरानीलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, नेकपा माओवादीका बेनी नगर कमिटी उपाध्यक्ष अम्विका ढुङ्गाना लगायतले बधाई तथा शुभकामना प्रकट गर्नुभएको थियो ।