म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको चौँथो स्थापना दिवसको अवसरमा निशुल्क आखाँ जाँच कार्यक्रम संचालन गरिएको हो ।
हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने उद्देश्यका साथ बिद्यालयमा अध्ययनरत १६६ जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको नेपाल नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जाँच गरिएका मध्य ८ जनामा दृष्टि भ्रम र १२ जनामा अन्य समस्या भएको पाइएको थियो । दृष्टि भ्रम भएका ८ जना विद्यार्थीलाई थप परिक्षण तथा उपचारका लागि संघद्वरा संचालित आँखा उपचार केन्द्रमा क्याम्पसचोकमा बोलाईएको छ । आँखाको परिक्षण गरि चस्मा प्रदान गरने छ । शिविरमा निशुल्क रुपमा औसधि वितरण गरिएको थियो ।
शिविरमा आँखा रोग विशेषज्ञ डा. दिनेश बानियाँले विद्यार्थीहरुको आँखा जाँच गर्नुभएको थियो । साथै आँखाको सुरुक्षा सम्वन्धी परामर्श समेत दिईएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार श्रेष्ठले स्थापना दिवसको अवसरमा सेवामूलक कार्य गरेकोमा संघलाई धन्यावद प्रकट गर्नुभयो ।
उहाँले आँखा मानव जीवनको महत्पूर्ण र संवेदनशिल अंग भएकाले पनि आँखाको हेरचाहमा सानै उमेरदेखि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । आँखाको नियमित सरसफाई गर्न पनि विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।
नेत्रज्योति संघको जिल्ला सभापति अमर बानियाँले संघले सामाजिक उत्तरदायित्व वहन गर्दै स्थापना दिवसको अवसरमा आँखा परिक्षण शिविर संचालन गरिएको बताउनुभयो । साना बच्चाहरु जथाभावि खेल्ने र आँखाको ख्याल नराख्ने हुँदा यसले भविस्यमा आँखा सम्वन्धी समस्या देखा पर्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुको आँखा जाँच गरिएको बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ म्याग्दी २०७६ साल जेठ ३१ गते स्थापना भएको थियो । संघले नेत्ररागीहरुको सेवाका लागि जिल्लाका ग्रामिण भेगहरुमा समेत विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
नेपाल नेत्रज्योति संघको देशैभर ४३ वटा शाखाहरु रहेका छन । २० वटा आँखा अस्पताल तथा १४८ वटा आँखा उपचार केन्द्रहरु संचालन गरि विगत ४३ बर्षदेखि सेवा दिदै आइरहेको बताईएको छ । देशमा जनस्वास्थ्य समस्याको रुपमा रहेको अन्धोपनलाई हटाउने उद्देश्य अनुरुप विभिन्न स्वदेशी तथा विदेशी दातृ संस्थाहरुको सहयोगमा संघले आँखा स्वास्थ्य सम्वन्धी गतिविधि संचलान गर्दै आएको छ ।