सुमीको “शिरिरी“ सार्वजनिक (भिडियो सहित)

विकास बिश्वकर्मा
युएई । युरोपमा रहेर नेपाली लोकदोहोरी गीतको संरक्षण एवम् सम्वद्र्धनमा सक्रिय सुमी घिमिरे सापकोटाको छैठौँ कोशेली लोकदोहोरी गीत “शिरिरी“ सुभारम्भ डिजिटल म्युजिक च्यानलमार्फत् हालै सार्वजनिक भएको छ ।

प्रत्यक्ष दोहोरी प्रतियोगितामा अब्बल मानिने म्याग्देली गायिका सुमीका यस अघि पनि झुक्यायो मलाई, घाइते मुटु, माछा पानीमा, आँसुको परिक्षण, आऊ सानु पिरती लाउन लगायतका गीत बजारमा आएका छन् ।

नेपालमा रहँदा थुप्रै दोहोरीगीत प्रतियोगितामा विजयी भएको अनुभव समेत रहेकी गायिका सुमी शब्द तथा लय सिर्जना, स्वर तथा अभिनयमा समेत पोख्त हुनुहुन्छ । प्रदेशको जागिर तथा परिवारको जिम्मेवारी समेतलाई व्यवस्थापन गर्दै सांगीतिक कार्यक्रमहरुमा प्रस्तुती दिन नचुक्नु उहाँको कदरयोग्य पक्ष हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको संस्थापक र निवर्तमान अध्यक्ष समेत रहनु भएको उहाँले स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, नोर्वे, लक्जेम्बर्ग, पोर्तुगल लगायतका देशमा आफ्नो प्रस्तुती दिइसक्नु भएको छ । सामाजिक कार्यमा समेत उत्तिकै रुचि भएकी उहाँ गैर आवासीय नेपाली संघ, स्पेनको निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रेमको जालमा पारेर विस्तारै तर्किन खोज्ने मायालुलाई त्यसो नगर्न गुनासो गरिएको यस गीत “शिरिरी“मा हरि गिरी ’विमर्शी’को शब्द, सुमी घिमिरे सापकोटाको लय र उहाँहरुकै स्वर रहेको छ भने कृष्ण के.सी.ले गीतको एरेन्ज गर्नुभएको हो ।

म्युजिक भिडियोमा एकिन्द्र शाराशंकरको निर्देशन तथा सागर लम्साल ’बले’र गीता ढुंगानाको अभिनय रहेको छ । हरि गिरी “विमर्शी“ र सुमी घिमिरे सापकोटाको यो दोस्रो सहकार्य हो ।

नेपाली गीतसंगीतप्रेमी मनहरुको माया,साथ सहयोग र सुभेच्छाले आफूलाई अघि बढ्न प्रेरित गरिरहने बताउने सुमीले “शिरिरी“लाई पनि सबैले हेरिदिन तथा माया गरिदिन अनुरोध गर्दै यसपछि “बाटै मुनि“ बोलको अर्को गीतको तयारीमा जुटेको बताउनु भएको छ ।

You can share this post!

राधाकृष्ण मन्दिरमा साढे ७ लाखको अक्षयकोष स्थापना

सकियो छन्त्याल संघको सातौँ महाधिवेशनः अध्यक्षमा मनमोहन छन्त्याल निर्वाचित

Related posts