माओवादीबाट मालिका–३ का वडा अध्यक्षमा मोतिप्रसाद बुढा उम्मेदवार

बेनी । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इञ्चार्ज बलबहादुर रोका र सचिव लालबहादुर घतानेको प्रस्तावमा युवा नेता बुढालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो ।

बैठकमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति म्याग्दीका संयोजक रेशम जुग्जालीले आसन्न स्थानीय तह चुनावमा पार्टीका उमेद्वारलाई जिताउन प्रचारप्रसार र जनभेटघाट अभियानमा जुट्न निर्देशन दिनुभयो ।

म्याग्दीमा माओवादीले पुरानो शक्ति फर्काउन अभियानमा जुटेको बताउदै उत्साहित हुन आग्रह गर्नुभयो । भूगोल, समुदाय, लैङ्गिक र समावेशी हिसावले वडा सदस्यका उम्मेदवार छनौट गर्ने माओवादीले जनाएको छ ।

माओवादीको बैठकमा आएका एमालेबाट गत निर्वाचनमा वडा अध्यक्ष जितेका हेमबहादुर पुनले उम्मेदवार बनेका बुढाको टोलीसँगै हात समाएर एकाकार भएको तस्विर सार्वजनिक भएको छ ।

माओवादी केन्द्रले धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।

बेनी नगरपालिका– ३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा दोहोराउने निर्णय गरेको छ ।

विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोविन्द पौडेलले जानकारी दिनुभयो । जिल्ला संयोजक रेशम जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

You can share this post!

हिमालय बचाउँ, नदी जोगाउँ अभियानमा शान्ति समाज

एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर

Related posts