बेनी नगरद्वारा सडक स्तरोन्नतीमा ८१ लाख बजेट बिनियोजन

बेनी नगरपालिकाले दुई ग्रामिण सडक स्तरोन्नती गर्ने भएको छ । नगरको सोमबार वसेको ७९ औं कार्यपालिकाको वैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरको समपुरक कोषको २७ लाख गरी ८१ लाख रुपैयाँ सडक स्तरोन्नतीका लागि विनियोजन गर्ने निर्णय गरेको हो ।

वडा नम्बर २ स्थित हाँडेभिर–लभ्लीहिल सडक र बेनी नगरपालिका–३ स्थित दुधेखोला – हल्लेगौडा–भकिम्ली सडक स्तरोन्नती गर्न उक्त बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

नगर कार्यपालिका वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा नगरका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष बराइलीले वैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको थियो । उहाँले दिएको जानकारी अनुसार बेनी स्थित क्षेत्री समाजको भवन मर्मत सम्भारका लागि १० लाख, बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि १४ लाख बजेट विनियोजन भएको छ ।

असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको लागि १० लाख र तातोपानी बस्ती संरक्षणका लागि ४ लाख बजेट विनियोजन निर्णय भएको उहाँले जानकारी दिनुभयो । म्याग्दी नदीको कटानमा परेको तातोपानी बजार संरक्षणका लागि रुपाताल परियोजनाबाट संरक्षणको काम अगाडि बढेको उहाँले बताउनुभयो ।

विद्यालय, बस्ती लगायतमा कटानको जोखिम कायमै रहेकाले नगरपालिकाले समेत थप बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । गत असारमा आएको बाढीका कारण नदी कटानका कारण तातोपानीका एकदर्जन घरधुरी विस्थापित भएका छन् ।

अघिल्लो बैठकबाट प्रत्येक वडामा ८ लाखको योजना सञ्चालन भएकोमा योजनालाई पूर्णता दिन थप २ लाख रुपैयाँका दरले बजेट विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यसैगरि नेपाल सरकारबाट सशर्त अनुदानका रुपमा प्राप्त भएको बाली विकास कार्यक्रमको लागि आएको २५ लाख ५० हजार बजेटलाई वडा नम्बर १, ४, ५, ६ र ९ मा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

बेनी नगरपालिका–७ स्थित बिरेन्द्र चोकमा रहेको पिपलको रुखका हाँगा काँटछाँट गर्ने क्रममा रुखबाट खसेर ज्यान गुमएका मजदुरलाई नगरपालिकाले श्रमऐन अनुसार उपलब्ध गराएको ७ लाख २५ हजारको आर्थिक सहायताको खर्चलाई अनुमोदन गरेको छ ।

यसैगरी बजार क्षेत्रमा जडान गरिएका सिसिटिभीहरुको असार मसान्त सम्म मर्मत सम्भार गर्नका लागि निजी फर्मसँग सम्झौता गर्ने निर्णय गरेको छ । औद्योगिक ग्राम स्थापना गर्न वडाहरुलाई उपयुक्त जग्गा सिफारिस गर्न लगाउने निर्णय भएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो। बेनी नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित गर्न विभिन्न कार्यविधिहरु अनुमोदन गर्ने निर्णय भएको उहाँले बताउनुभयो

You can share this post!

भकिम्लीमा ‘नमुना’ बर्थिङ सेन्टर बन्ने

छात्रवासको जग्गा खरिद गर्न स्थानीय द्वारा सत्ताईस लाख वढि संकलन

Related posts