तमानगाउँको ढाका कपडाले पाएन बजार

खेमराज गौतम, बागलुङ।  तानमा बुनेको ढाकाको कपडाको विशेषता हो राम्रो र न्यानो । तर यसको महत्व नबुझ्दा ढाकाको कपडाप्रति स्थानीयको खासै आकर्षण छ्रैन । त्यसको प्रत्येक्ष प्रभाव तमानगाउँका महिलाहरुलाई पर्न गएको छ ।

चार वर्षदेखि ढाकाको कपडा उत्पादन गर्दै आएका तमानखोला गाउँपालिका–३ तमानगाउँका महिलाहरुले ढाकाको बजारीकरणमा समस्या भएको बताएका छन् । उद्यमीहरुले उत्पादन गर्दै आएको ढाकाको कपडाले बजार पाउन नसकेको हो । शुरु शुरुमा स्थानीले चासो दिएर खरिद गरेपनि पछिल्लो समय ढाकाको कपडा बिक्न छोडेर गोदाममै थन्किदा महिलाउद्यमीहरु निरास भइरहेको चारवर्षदेखि निरन्तर ढाकाको कपडा उत्पादन गर्दै आएकी जुना माया घर्तीले गुनासो गर्नुभयो ।

बजारमा आएका औजारले बुनेको सस्तो कपडा संग प्रतिस्प्रधा गर्न नसक्दा र ढाकाको कपडाको महत्व नबुझ्दा ढाका उत्पादनले बजार नपाएको उद्यमीहरुले गुनासो गरेका छन् । १४ जनाले सामुहिक रुपमा कल्याण आमा समूहको भवनमा ढाकाका कपडा बुन्दै आएकोमा अहिले सात जनामा सिमित भएको घर्तीले बताउनुभयो ।

“हामीले आफ्नै खर्चमा तालिम लियौं,ं, स्थानीय उत्पादनका रुपमा कोसेली दिनका लागि ढाकाका कपडा तानमा बुन्न थालेका हौं, शुरुमा राम्रै विक्रि भयो, लगानी समेत उठायौं” घर्तीले भन्नुभयो “तर विस्तारै हाम्रो उत्पादन बढ्दै गयो बिक्रि घट्दै गयो, ढाकाको कपडा महङ्गो हुँने र ढाकाको महत्व नबुझ्दा धेरैले ढाकाको कपडा प्रयोग नगर्ने समस्या छ, गाउँपालिकाले बजारीकरण गर्न आवश्यक छ, अहिले ११ तान भएपनि उद्यमी घटेर ७ जनामा सिमिति भएका छन् ।”

ढाकाको कपडाका कारण घरको चुलोचौकोमा सिमित रहेका तमान गाउँका महिलाहरुको दैनिकी फेरिँदै गएको भएपनि ढाकाका कपडाले बजार नपाउदा उद्यमीमा निराशा छाएको छ ।

ढाका उद्योगले महिलाहरुको दैनिकी फेरिएसँगै आयआर्जनमा समेत ठूलो टेवा पु¥याए पनि पछिल्लो समय बजारीकरणमा समस्या भएको अर्का महिला उद्यमी जमुना घर्ती मगरले बताउनुभयो ।

“ढाकाको चोला, ढाकाको खास्टो, गलबन्दी, पछ्यौरा लगायतको व्यापार खस्केपछि हामीहरु आफै तमानखोलाको दुर्गम गाउँहरु नर्जाखानी, बोङ्खानी लगायतको क्षेत्रमा पुगेर विक्रि ग¥यौ, केही उद्यमीहरुले ढाकाको व्यापारमा कमी आएपछि ढाका उद्योग छाडेर पुरानै काममा फर्केका छन्” जमुनाले भन्नुभयो “नगदमा कच्चा सामाग्री खरिद ग¥यो दिनभरी तानमा बुन्यो, बजारमा विक्रि हुँने कहिले हो कहिले भन्दै सात जना महिला उद्यमीहरुलाई घरबाट असहयोग भएर ढाका बुनाईबाट विस्थापित भएका छन् ।”

स्थानीय सरकारले बजारीकरण गरे ढाका उद्योग फष्टाउनेमा उनिहरुको अपेक्षा रहेको छ । ढाको उद्योगमा अहिले ११ तान रहेका छन् । महिलाहरुले उत्पादन गरेको स्विटर, झोला, खास्टो, गलबन्दी, पछ्यौरा लगायतका ढाकाका कपडा अहिले उद्योगमै थन्किन थालेका छन् । घर्तीले महिलाहरुको लगानीमा तालिम लिएर उद्योग संचालन गरेको गरेको भन्दै समूहका सबैले सुरुमा ६०÷६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताउनुभयो ।

कपडा बनाउन चाहिने धागो तथा अन्य सामानहरु काठमाण्डौबाट ल्याउने गरेको महिला उदमीहरुको भनाइ छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने महिलाहरु बताउँछन् ।

उहाँले एउटा सल बुन्नको लागि २ देखि ३ दिनसम्म लाग्ने र अरु कपडाहरु बुन्नका लागि १ दिनदेखि हप्ता दिनसम्म लाग्ने बताउनुभयो । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म पर्ने गर्छ भने एउटा सलको १२ सय देखि २ हजार पाँच सयसम्म पर्ने गर्छ । उहाँले उद्योगमा काम गर्न थालेपछि बालबालिका पढाउन र घर खर्च चलाउन समेत सहज भएको बताउदै बजारीकरणमा सरोकारवालाले चासो दिनुपर्ने बताउनुहुन्छ ।

You can share this post!

स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

स्थानीय तह निर्वाचनका लागि दल दर्ता खुला

Related posts