म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकमा गत पुस १ गते देखि लागु गरिएको एकतर्फी यातायात संचालनलाई हटाउने निर्णय गरिएको छ ।
सोमबार बेनी नगरपालिकाको कार्यलयमा बेनी बजारमा ट्राफिक ब्यबस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायातलाई हटाई दुइतर्फी नै संचालन गर्ने निर्णय गरेको हो ।
एकतर्फी यातायात संचालन भएपछि ब्यबसायमा असर परेको भन्दै बेनी बजारका ब्यबसायी तथा टोल बिकास समितिले समेत असन्तुष्टि ब्यक्त गर्दै पटक पटक नगरपालिकामा ध्यानाकर्षण गराएका थिए ।
ब्यबसायीको चौतर्फी दवाव पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ तथा टोल बिकास समितिको बैठक बसी एकतर्फी यातायात संचालन हाललाई हटाउने निर्णय गरिएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
बेनी बजारमा ट्राफिक ब्यबस्थापनका लागि गत मंसिर १४ गते बसेको सरोकारवालाको वैठकले बेनी बजारमा एकतर्फी यातायात संचालन गर्ने निर्णय गरको थियो । त्यसपछि गत पौष १ गतेदेखि बजार भित्र क्याम्पसचोक देखि, गणेशटोल, संगमचोक, बालमन्दिरचोक, बिरेन्द्रचोक, हुलाकचोक, न्यूरोडक हुँदै पुनः क्याम्पसचोक पुग्ने गरि सो सडकमा एकतर्फी यातायात संचालन लागु गरिएको थियो ।
एकतर्फी यातायात संचालन भएपछि सडकमा जाम हुने समस्या कम, सवारी दुर्घटनाको जोखिम कम हुनुका साथै पैदलयात्रीहरुलाई पनि सहज भएको थियो ।