आजदेखि दिइने बुस्टर डोज खोप

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ ।

खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् । यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्छन् ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप लगाउनुपर्ने र पहिलेको खोप कार्ड लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो।

You can share this post!

सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटियो

विवाह, व्रतवन्ध तथा धार्मिक कार्यक्रममा ५० जनासम्म भेला हुन पाइने

Related posts