काठमाडौं, १ माघ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ।
पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने सहभागी प्रतिनिधिमण्डल शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने र सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए । ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’
प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड(१९ विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए ।