नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको आज (शनिबार) बन्दसत्रको हलबाट प्रतिवेदन पारित भएको छ । बन्दसत्रमा पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गर्नुभएको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरी संशोधनसहित पारित गरिएको हो ।
अध्यक्ष श्रेष्ठले नवौं जिल्ला अधिवेशनको बन्दसत्रमा पेश गरेको २८ पेजको राजनीतिक तथा साङ्गठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित भएको एमालेका युवा नेता एवं अध्यक्ष मण्डलका सदस्य सन्तोष रावलले जानकारी दिनुभयो । शनिबार दिनभर जसो प्रतिवेदनमाथि प्रतिनिधिहरुको बीचमा छलफल गरी प्रतिवेदन पारित गरिएको हुँदा भोलि (आइतबार) बिहानैदेखि नेतृत्व चयनको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले पेश गरेको उक्त प्रतिवेदनउपर छलफल गर्न विभिन्न आठवटा समूहहरु बनाइएको थियो । ती समूहमा प्रतिनिधिको बीचमा छलफल गरी टिपोट भएका विषयलाई बुँदागत रुपमा समूहका नेताहरुले प्रस्तुत गरेका थिए । एमालेको छ वटा पालिका कमिटी, जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको गरी विभिन्न आठ समूहबाट प्रतिवेदनमाथि छलफल गरिएको थियो । प्रतिवेदनमाथि उठेका विषयमा एमाले जिल्ला अध्यक्ष श्रेष्ठले पार्टीको धारणासहित जवाफ दिनुभएको थियो ।
अध्यक्ष श्रेष्ठले प्रतिवेदनमाथि उठेका विषयको जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको थियो । एमालेको नवौं अधिवेशनको बन्दसत्र सञ्चालन गर्नका लागि एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा एमालेका नेताहरु भूपेन्द्रबहादुर थापा, नरदेवी पुन, नवराज शर्मा, खुमबहादुर बानियाँ, तर्कबहादुर केसी, हरिकृष्ण श्रेष्ठ, पुष्कर विक र सन्तोष रावल रहनुभएको छ ।
एमालेको अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुलाई म्याग्दी सदरमुकाम बेनीका १४ ओटा होटलहरुमा व्यवस्थापन गरेर राखिएको छ । ‘गुट, फुट र अराजकताको अन्त्य गरौं, सबल, सुदृढ र एकताबद्ध पार्टी निर्माण गरौं’ भन्ने मूल नारासहित हिँजो (शुक्रवार)देखि सदरमुकाम बेनीमा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको हो । अधिवेशनले एमाले म्याग्दीको नयाँ नेतृत्व चयन गर्नेछ ।
शनिबार प्रतिवेदन पारित भएसँगै एमालेका पालिका कमिटीहरुले आ–आफ्नो कमिटीबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरु टुङ्ग्याउनतर्फ लागेका छन् । एमालेको जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्य पदमा सर्वसम्मत रुपमा चयन गर्ने नेकपा एमाले म्याग्दीले जनाएको छ ।