म्याग्दी । म्याग्दिको सदरमुकाम बेनिमा बुधबार पत्रकार आचारसंहिता जागरण कार्यक्रम समपन्न भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो । पत्रकारले लेखेका समाचारका केही हेडलाइनका कारण आत्महत्या गर्नुपर्ने अवस्था समेत सृजना हुन सक्ने भन्दै राज्यको चौथो अंग भएका कारण पत्रकारले प्रश्न उठ्ने खालको क्रियाकलापहरु नगर्न आग्रह गर्नुभयो ।
उहाँले पत्रकार परिचयपत्रको दुरुपयोग नगर्न पनि अनुरोध गर्नुभयो । गैह्र पत्रकारले समाजमा बिकृति उत्पन्न गराएकाले यसलाई नियन्त्रण गर्नका लागि काउन्सिलले कार्ययोजना बनाएको बताउनुभयो । कतिपय संचार माध्यमहरु राज्यको निकायमा दर्ता नभइ संचालनमा रहेकाले त्यस्ता अवैध संचार माध्यमलाई अनुगमन गरि बन्द गर्ने प्रक्रिया लाई अगाडि बढाएको पनि अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले विगत ३ बर्षदेखि रोकिएको पत्रिका बर्गीकरणको कार्यलाई यस बर्षदेखि पुन सुचारु गर्ने र दर्ता भएका अनलाईन संचार माध्यमलाई पनि बर्गीकरणको पक्रिया लैजाने तयारी भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको संरक्षणमा पनि विशेष काम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारले घटनाको प्रकृति र संवेदनशिलता बुझेर समाचार लेख्नु पर्ने बिचार ब्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जनतालाई सूसुचित बनाउनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै सुशासन र पारदर्शिताका लागि खवरदारीका समाचारहरुलाई सकरात्मक तवरले लिनुपर्ने बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक श्याम कुमार राई, हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ, पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सस्थापक अध्यक्ष घनश्याम खड्का , म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैह्र सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल लगायतले असल पत्रकारले आचारसंहिताको सदैव पालना गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
काउन्सिलका अनुगमनकर्ता गीता कठाएतले पत्रकार आचारसंहिता, यसको महत्व, आचारसंहिता उलंघन गरि प्रकाशन भएका सामग्री, त्यस उपरको उजुरी, कार्वाही प्रक्रिया र आचारसंहिता पालनाको अबस्थाको बिषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरु सहभागी भएका थिए । सहभागीहरुले काउन्सिलले मोफसलका संचार माध्यमहरु संकटमा रहेकाले उचित ब्यबस्थापनका लागि सरकार संग थम समन्वय गर्नु पर्ने बताएका थिए । लोक कल्याकारी बिज्ञापन प्रसारणबापतको रकम समयमै बिना झञ्जट भुक्तानी गर्न अनुरोध गरेका थिए ।
कार्यक्रम पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा समपन्न भएको थियो ।